Sajhamanch Archive

उखु किसान १५ दिनदेखि काठमाडौंमा आन्दाेलन गर्दै

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । उखुको भुक्तानी माग गर्दै विभिन्न जिल्लाबाट काठमाडौं आएका किसानहरू गएको १५ दिनदेखि माइतीघर मण्डलामा प्रदर्शन गरिरहेका छन् । तर अहिलेसम्म सरकारले उनीहरूको भुक्तानी दिलाउन कुनै पहल गरेको छैन ।

यसबीचमा केही उद्योगीले किसानको खातामा रकम पठाएका छन् । तर सरकारले तोकेको भन्दा पनि कम दरमा भुक्तानी पाएको किसानहरूको गुनासो छ । त्यसैले सबै किसानको खातामा सबै भुक्तानी नपाउँदासम्म आन्दोलन जारी राख्ने उनीहरू बताउँछन् ।

हलो, उखु र विभिन्न माग लेखिएका प्लेकार्ड लिएर गएको १५ दिनदेखि उखु किसानहरू आफ्नो पसिनाको भुक्तानी पाउनुपर्ने माग गर्दै केन्द्रीय राजधानीको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।

गएको वर्ष पनि उनीहरूले यस्तै आन्दोलन गरेका थिए । तर सरकारको रोहबरमा किसान र उद्योगीबीच एक महिनाभित्र भुक्तानी दिने सहमति भएपछि किसान घर फर्किएका थिए । तर एक वर्षसम्म पनि भुक्तानी नपाएपछि तिनै किसान फेरि काठमाडौं आइ आन्दोलन गरिरहेका छन् । १५ दिनसम्म आन्दोलन गर्दा पनि सरकार नसुने झैँ गरी बसिरहेको छ ।

किसानहरूले आन्दोलन गरेको देखेपछि केही उद्योगीले किसानको खातामा रकम पठाउन थालेका छन् । तर सरकारले तोकेको मूल्यभन्दा पनि कम दरमा भुक्तानी पठाएको किसानहरूको गुनासो छ ।

चिनी उद्योगीहरूबाट उखु किसानहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी लिन बाँकी रहेको बताइएको छ । गएको सात वर्षदेखिको भुक्तानी पाउन बाँकी रहेको आन्दोलनमा सहभागी किसानहरूले बताएका छन् । आफूहरूले दुःख गरेर उब्जाएको उखुको भुक्तानी नपाउँदासम्म आन्दोलनलाई जारी राख्ने किसानहरूले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *