Sajhamanch Archive

मोटोपन नियन्त्रणका लागि कस्तो डाइट गर्ने

Published: (Updated: ) in विचार/ब्लग, शिक्षा, स्वास्थ्य, by .

मोटो शरीर झट्ट हेर्दा राम्रो देखिएतापनि विभिन्न रोगहरूको सिकार बनेको हुन्छ । मोटोपन नियन्त्रणका लागि धेरैले डाइटिङ अर्थात् खानपानमा कटौती गर्नेगर्दछन् । खाना नै नखाएपछि मोटोपन नियन्त्रण हुन्छ भन्ने सोचाइ हाम्रो समाजमा व्याप्त छ। तर चिकित्सकहरूले यसलाई सही मानेका छैनन् । खानेकुरा कटौती गर्दा शरीरमा आवश्यक पोषण पुग्दैन र अरू रोगहरू थपिने डर रहन्छ ।

त्यसैले मोटोपन नियन्त्रणका लागि खानामा कटौती गर्ने होइन । बरु नियमबद्ध तालिका बनाएर खानपान गर्नु उचित हुन्छ । जब हामी मोटोपन नियन्त्रणका लागि डाइटिङ गर्न थाल्छौं, सुरुका दिनहरूमा निकै रमाइलो लाग्छ । रमाइलो यसकारण कि, हामीले आफ्नो तौल नियन्त्रण भएको अनुभव गर्छौ र डाइटिङमा छु भन्दा खुशी मान्छौं । तर, हाम्रो डाइटिङको क्रम लामो समयसम्म जारी रहनै सक्दैन । केही दिनपछि नै हाम्रो खानेबानीले पुनः पुरानै गति लिन्छ, र हाम्रो ज्यान झन मोटाउन थाल्छ ।

वास्तवमा, यसको एउटा वैज्ञानिक कारण छ। केही दिनको डाइटिङले हाम्रो शरीरमा भएको क्यालोरी घट्छ । क्यालोरी घटेपछि हाम्रो शरीरको तौल पनि घट्न जान्छ । सुरूवाती दिनमा कम खाना खानु, कतिपय खाना खाँदै नखानु तौल घटाउने राम्रो उपाय हुन सक्छन् । तर त्यसरी खाना नै खान कम गर्दा शरीरलाई आवश्यक कुनै न कुनै पोषक तत्वको कमी हुन जान्छ ।

परिणामस्वरूप थकान तथा डिप्रेसनले हामीलाई सताउन थाल्छ । थकान र अल्छिपनाले कामै गर्न मन नलाग्ने भएपछि बाध्य भएर हामी खानेकुरा खाने पुरानै बानीलाई अपनाउन थाल्छौं । डाइटिङ बिर्सिएपछि हामी झन धेरै खाना खान थाल्छौं । यसरी हाम्रो शरीर पहिलाको भन्दा झन मोटो देखिन थाल्छ ।

सामान्यतयाः एउटा स्वस्थ पुरुषका लागि दिनको १८ सय तथा महिलाका लागि १५ सय क्यालोरी पर्याप्त मानिन्छ । डाइटिङ गर्ने क्रममा हामीले करिब ५ सय क्यालोरी घटाउन सक्छौं । कार्बोहाइड्रेडले शरीरलाई ऊर्जा प्रदान गर्छ । हाम्रो शरीरले प्राप्त गर्ने ५५ देखि ६५ प्रतिशत कुल क्यालोरी कार्बोहाइड्रेडबाटै प्राप्त हुन्छ । कार्बोहाइड्रेडले हाम्रो शरीरमा इन्धनको काम गर्छ ।

पाचन प्रक्रियाका लागि पनि कार्बोहाइड्रेड अनिर्वाय मानिन्छ । त्यसैले डाइटिङ गर्दा कार्बोहाइड्रेडलाई पूर्ण रुपमा कटौती गर्ने हैन , त्यसको साटो, फलफूल र सागसब्जीको मात्र बढाउन सकिन्छ भने मैदा र त्यसबाट बन्ने पदार्थहरुको प्रयोग कम गर्नु पर्छ ।

शरीरको तौल घटाउनुको अर्थ शरीरबाट क्यालोरीको मात्रा घटाउनु हो । त्यसका लागि हामीले नियमित शारीरिक अभ्यासका गर्नु आवश्यक छ । हरेक बिहान योगा गर्ने, दौडिने बानी गर्नुपर्छ । साथै खानपिनमा पनि विशेष ध्यान दिनुपर्छ । खानपिनमा त्यस्ता खाद्यपदार्थलाई समावेश गर्नुपर्छ, जसले क्यालोरी पनि घटोस् र शरीरमा नकारात्मक प्रभाव पनि नपरोस् ।

दूधबाट बनेका चिल्लोरहित खाद्यपदार्थहरु प्रयोग गर्न सकिन्छ । खानामा ताजा सागसब्जी तथा फलफूलको मात्रा बढाउनुपर्छ । खानाबाट सेतो चिनी, मदिरा तथा टिनको डब्बामा प्याक गरिएका खाद्य पदार्थ खान छाड्नुपर्छ ।

बिहानको नास्ता

नास्ता अनिवार्य गरौं । नास्ता छाड्ने गल्ती गर्दै नगरौं । नास्तामा उसिनेको अण्डा, फलफूल, सातु, ग्रीन टी समावेश गर्न सकिन्छ ।

खाली पेट नबसौं

बेला बेला केही न केही खाइरहने गरौं । यसरी खाँदा मोटोपन बढ्ने भ्रम धेरैलाई छ । तर हामी लामो समय भोको बस्छौं र एकै पटकमा धेरै खान्छौं, जसले मोटोपन बढाउने गर्छ ।

फलफूल, सलाद र सागसब्जी

आफ्नो दैनिक खानेकुरामा फलफूल, सलाद र सागपातलाई प्राथमिकतामा राखौं । मौसमी फलफूल पर्याप्त मात्रामा सेवन गरौं ।

प्रसस्त पानी पिउने

पुग्दो मात्रामा पानीको सेवन गरौं । पानीको साटो कोल्ड ड्रिंक, चिया कफी वा यस्तै पेय उचित हुँदैन । संभव भएसमम सादा पानी नै पिउनु उचित हुन्छ ।

रातको खाना

रातको खाना हल्का, हुनुपर्छ । सकेसम्म रोटि,सुप वा फलफूल खानु उचित हुन्छ ।

(विभिन्न सञ्चार माध्यमबाट)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *