Sajhamanch Archive

अझै बनेन फोहोरमैला प्रशोधन केन्द्र, बगरमा फोहोर फाल्दै नगरपालिका

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, by .

दमक । झापाको दमकमा फोहोरमैला प्रशोधन केन्द्र निर्माण थालेको एकवर्ष बितिसक्दा पनि पूरा हुन सकेको छैन ।

दमकको बजार क्षेत्रबाट निस्कने फोहोरको दीर्घकालीन व्यवस्थापन गर्ने उद्देश्यले निर्माण थालिएको प्रशोधन केन्द्र अझै सञ्चालनमा आउन नसकेको हो ।

फोहोरमैलाको उचित व्यवस्थापन गर्न प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा नगरपालिकाबाट उत्पादन हुने दैनिक करिव १५ टन फोहोर दमक–२ स्थित रतुवा खोलाको बगरमा फालिने गरेको छ । यसरी खोला बगरमा फोहोर फालिँदा समस्या भएको स्थानीयले बताउने गरेका छन् । नगरपालिकाले सुरक्षित रुपमा फोहोर फाल्ने गरेको बताए पनि खोलामा लगेर फाल्ने गरेको दमकस्थित बेल्डाँगीका कृष्ण दाहालले बताए ।

उनले भने, ‘नगरपालिकाले चाहिँ दुर्गन्धित छैन हामीले व्यवस्थित गरेका छौँ भन्ने गर्छ तर, फोहोर खोलामा फाल्ने गरेको छ ।’ नजिकै प्रशोधन केन्द्र बनाए पनि उपयोगमा नआउँदा स्थानीय क्षेत्रमा दुर्गन्ध फैलिएको उनले बताए । उनले भने, ‘प्रशोधन केन्द्र बनाएको भन्छन्, तर अहिलेसम्म पनि प्रयोगमा ल्याउँदैनन्, यसले गर्दा दुर्गन्ध फैलिएको छ, खोला अलिक ठूलो भयो भने खोलाले बगाएर सबै फोहोरहरु तल बस्तीमा ल्याउँछ ।’

उनले प्रशोधन केन्द्र हात्तीको देखाउँने दाँत जस्तो मात्र बनेको बताए । दुई वर्षअघि पाथ वे नेपाल प्रालि जेभीले जिम्मा लिएको थियो । उक्त प्रशोधन केन्द्र स्थापना नहुँदा दमकको फोहोर ब्यवस्थापनमा चुनौती भएको प्रालिका अध्यक्ष सुवास बस्नेतले बताए । उनले भने, ‘हामीलाई सम्झौता भएको ६ महिनामा रिसर्च रिकभरी सेन्टर सम्पन्न गरेर दिने भनेको थियो तर यतिका वर्ष भइसक्यो, अहिलेसम्म पनि सम्पन्न भएको छैन ।’

उनले प्रशोधन केन्द्र सञ्चालनमा नआउँदा फोहोर ब्यवस्थापनमा खर्च धेरै बढेको बताए । उनले भने, ‘फोहोर पुर्नका लागि एउटा जेसिभी सधैँ त्यहिँ राख्नुपर्ने अवस्था छ, त्यसैले प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउनुपर्छ ।’ दमक नगरपालिकाले भने फोहोरमैला प्रशोधन केन्द्र चाँडै सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ । अहिलेसम्म प्रशोधन केन्द्र सञ्चालनमा नआए पनि व्यवस्थित रुपमै फोहोरमैला ब्यवस्थापन गरिरहेको दमक नगरपालिकाकी उपप्रमुख गीता अधिकारीले बताइन् ।

‘नगरपालिकाको आफ्नै जग्गा छ’, अधिकारीले भनिन्, ‘त्यही जग्गाको केही भागमा तत्कालका लागि फोहोर फाल्ने गरेका छौँ ।’ उनले भनिन्, ‘अहिले पनि हामीले ब्यवस्थित रुपमा नै फोहोर व्यवस्थापन गरिरहेका छौँ दैनिक रुपमा फोहोर डडाउने र पुर्ने गरेका छौँ, प्रशोधन केन्द्र नजिकै लग्ने गरेका छौँ ।’ उनले दमकको फोहोर ब्यवस्थापनका लागि अहिलेको भन्दा ठूलो मेसिन ल्याउने तयारी भइरहेको बताइन् ।

उनले भनिन्, ‘दमकको फोहोर उत्पादनको भार थेग्नका लागि यो मेसिन अलिक सानो हुने रहेछ, प्राविधिक कारण सञ्चालनमा पनि आएको छैन, अब ठूलो मेसिन सञ्चालनमा ल्याउने तायारी भइरहेको छ, हामी छलफल गरिरहेका छौँ ।’ दमक नगरपालिकाको बजार क्षेत्रबाट उत्पादन हुने दैनिक १५ टन फोहोर व्यवस्थापनका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रबाट १ करोड ५० लाख तथा नगरपालिकाको ५ लाख रुपैयाँ बजेट बिनियोजन भएको दमक नगरपालिकाका वातावरण प्रमुख द्रोण थापाले बताए ।

उनले गतवर्ष नै भौतिक संरचना निर्माणको काम सकिएको भए पनि विभिन्न कारणले सञ्चालन गर्न नसकिएको बताए । दमक—२ स्थित हम्सेदुम्से सामुदायिक वन क्षेत्रको तीन विघा क्षेत्रफलमा फोहोरमैला प्रशोधनका लागि उक्त प्रशोधन केन्द्रमा अहिलेसम्म घेराबारा, फोहोरमैला व्यवस्थापनका लागि तीन कोठे पक्की कार्यालय भवन, विद्युत् लाइन बिस्तार लगायतका कार्य सम्पन्न भएको थापाले बताए ।

उत्पादित फोहोरबाट जैविक फोहोरबाट कम्पोष्ट मल उत्पादन गर्ने नगरपालिकाको लक्ष छ । यस्तै अजैविक फोहोरबाट पुनः प्रयोगमा आउनेलाई पुनः प्रशोधन गरि पुनः प्रयोग गर्ने लक्ष रहेको थापाले बताए । उनले मेसिन जडान गर्ने प्राविधिक अभावमा प्रशोधन केन्द्र स्थापना गर्न नसकिएको बताए ।

उनले भने, ‘हामीले गत वर्ष देखिनै प्रशोधन केन्द्र सञ्चालन गर्ने भनेको तर ल्याएको प्रविधि जडान गर्ने प्राविधिक नभएका कारण जडान गर्न नसकिएको हो, जडान गर्ने प्राविधिक भारतको दिल्लीबाट ल्याउनु पर्छ, त्यसका लागि हामीले फोहोरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रमा निरन्तर दवाब दिइरहेका छौँ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *