Sajhamanch Archive

ताप्लेजुङ आगलागी : पाथीभरा मन्दिर सुरक्षित, डढेलो भने फैलिँदै

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएपछि ताप्लेजुङको पाथीभरा मन्दिर तत्कालका लागि सुरक्षित भएको छ ।

मन्दिर आसपासको जङ्गल क्षेत्रमा गएको बिहीबारदेखि सुरु भएको डढेलो मन्दिर परिसरमै पुगेपछि हिजो हेलिकप्टरबाट पानी खन्याएर आगो निभाएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईँले जानकारी दिए ।

हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरको आगो निभाएको हो । हेलिकप्टरले पाँच पटक पानी खन्याएपछि आगलागीबाट मन्दिरसहित त्यहाँका संरचना बचेको र तत्कालका लागि मन्दिरको जोखिम हटेको प्रजिअ चापागाईँले बताए । तर आसपास रहेको जङ्गलको ठूलो क्षेत्रमा आगलागी भइरहेकोले निभाउन कठिन भएको उनले बताए ।

आज पनि हेलिकोप्टरबाट पानी खन्याएर आगो नियन्त्रण गर्ने उनले बताए । स्थानीयसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले प्रयास गरिरहेको भए पनि आगलागी नियन्त्रणमा आउन सकेको छैन ।

शनिबार साँझदेखि आगलागी आंशिकरूपमा नियन्त्रणमा आए पनि सोमबार बिहान एक्कासी फैलिएर मन्दिर परिसरमा नै पुगेको थियो । रातको समयमा डढेलो केही कम भए पनि बिहान हावा चल्न थालेपछि फैलने गरेको प्रजिअ चापागाईँको भनाइ छ ।

डढेलोका कारण ठूलो क्षेत्रफलको जङ्गल नष्ट भएको छ भने त्यहाँ रहेका दर्जनौँ गोठसमेत जोखिममा परेका छन् । पाथीभरा क्षेत्रमा दुर्लभ वन्यजन्तु रेडपाण्डासमेत पाइने गरेको छ ।

आगलागीले फेदी बस्तीका बासिन्दाले प्रयोग गर्ने खानेपानीको पाइपसमेत जलेर नष्ट भएपछि त्यहाँका बासिन्दालाई समस्या भएको छ । फुङलिङ नगरपालिका–११ को पाथीभरा सिम्बु सामुदायिक बनबाट बिहीबारदेखि सुरु भएको आगो कसरी फैलियो भन्नेबारे खुलेको छैन ।

                                                                                                                उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *