जनश्रुती महिला बचत तथा ऋण सहकारीमा पुनः राजवंशी
Published:
by .बिर्तामोड । जनश्रुती महिला बचत तथा ऋण सहकारी संस्था बिर्तामोड –५ को अध्यक्षमा पुनः तुलकुमारी राजवंशी चयन भएकी छिन् ।
संस्थाको सातौं वार्षिक साधारणसभाको वन्दसत्रले राजवंशीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको हो । नवगठित सञ्चालक समितिको उपाध्यक्ष विमला चौधरी , सचिव ममताकुमारी राजवंशी, कोषाध्यक्ष आनन्दी राजवंशी रहेका छन् ।
त्यस्तै समितिका सदस्यहरुमा अनिता कार्की वस्नेत , सुष्मा राजवंशी , शर्मिला राजवंशी, पूर्णकुमारी राजवंशी, कमला अधिकारी भट्टराई , सीता मगर न्यौपाने, इन्द्रादेवी अधिकारी रहेका छन् ।
त्यस्तै सोही साधारण सभाको वन्दसत्रले सावित्रा राजवंशी संयोजक र सरु राजवंशी र भगवति मेचे सदस्य रहेको लेखा सुपरीवेक्षण समिति चयन गरेको छ ।
संस्थाको नयाँ सञ्चालक समिति र लेखा सुपरीवेक्षण समिति चयनका लागि बिर्तामोड नगरपालिकाका सहकारी तथा सामाजिक विकास शाखा अधिकृत डिल्ली दाहाल संयोजक र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकाल र ज्ञानेन्द्रकुमार कर्ण सदस्य रहेको निर्वाचन समिति गठन गरिएको थियो ।
कार्यक्रममा संस्थाकी अध्यक्ष तुलकुमारी राजवंशीले संस्थाको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन् । संस्थाको शेयर सदस्य एक हजार नौ सय ४९ जना , शेयर पूँजी ९२ लाख २३ हजार तीन सय ९९ रुपैयाँ , निक्षेप दुई करोड , ६६ लाख २० हजार आठ सय २४ रुपैयाँ ७६ पैसा , कर्जा लगानी तीन करोड ९७ लाख ५९ हजार तीन सय ४२ रुपैयाँ , नाफा १९ लाख १३ हजार चार सय ३२ रुपैयाँ ५२ पैसा रहेको प्रतिवेदनमा उल्लेख छ । कार्यक्रममा लेखा समितिकी संयोजक सावित्रा राजवंशीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
कार्यक्रमको सञ्चालन संस्थाकी सचिव ममताकुमारी राजवंशीले गरेकी थिइन् ।
Comments