Sajhamanch Archive

अनेरास्ववियुले सरकारविरुद्ध दोस्रो चरणको आन्दोलन घोषणा गर्‍यो

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहको भातृ सङ्गठन अनेरास्ववियुले प्रतिनिधि सभा विघटनको विरुद्धमा दोस्रो चरणको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।

प्रचण्ड–नेपाल पक्षको अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले मङ्गलबार पत्रकार सम्मेलन आयोजना गरि दोस्रो चरणको आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।

अनेरास्ववियुले पुस २१ गतेदेखि सरकारका मन्त्रीहरूलाई कालो झण्डा प्रदर्शन गर्ने, २१ गतेदेखि नै प्रत्येक क्यम्पसहरूमा कालो ब्यानर राख्ने र कोण सभा आयोजना गर्ने भएको छ ।

पुस २२ गते उपत्यकामा लालटिन जुलुस निकाल्ने र उपत्यकाबाहिर लालटिन, सिठ्ठी, लाठी जुलुस प्रदर्शन गर्ने, पुस २३ गते देशव्यापी रूपमा प्रधानमन्त्री केपी शर्मा ओलीको पुतला दहन गर्ने, पुस २४ गते जिल्ला प्रशासन कार्यालय (सीडीओ) मा ज्ञापनपत्र बुझाउने तथा धर्ना कार्यक्रम गर्ने अनेरास्ववियुका सह–संयोजक रञ्जित तामाङले बताए ।

त्यसैगरी पुस २५ गते सडक बहस कार्यक्रम गर्ने, पुस २६ गते बयलगाडा प्रदर्शन गर्ने, पुस २७ गते प्रतिगमनविरुद्ध सडक कविता, गीत, गजल वाचन कार्यक्रम गर्ने, पुस २८ गते सडक नाटक तथा सडक कला प्रदर्शन गर्ने र पुस २९ गते सडकमा प्लेकार्डसहित कार्टुन प्रदर्शन गर्ने भएको छ ।

सह–संयोजक तामाङले प्रतिनिधि सभा पुनर्स्थापना गर्दै प्रतिगामी कदम नसच्याउँदासम्म अनेरास्ववियुले अझै सशक्त कार्यक्रम गर्ने बताए । माघ १ गते तेस्रो चरणको सङ्घर्षको कार्यक्रम घोषणा गरिने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *