Sajhamanch Archive

प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ, सूर्य चिन्ह हामीले पाउँछौं : प्रवक्ता श्रेष्ठ

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले अहिलेको नेकपाको राजनीति अग्रगमन, क्रान्तिकारी र पश्चगमनबीचको अन्तरविरोध भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली पश्चगमनतिर लागेको कुरा उनको व्यवहारबाटै प्रष्ट भएको श्रेष्ठले बताए ।

‘नेकपाको अन्तरविरोध प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेका व्यक्तिकै कारण भएको थियो, यो समाधान हुन नपाएरै प्रधानमन्त्रीबाट संविधान लोकतन्त्र र गणतन्त्र मास्ने काम भयो,’ मंगलबार संवाददाताहरूसँग कुरा गर्दै श्रेष्ठले भने, ‘हामी ढुक्क छौं संविधानअनुसार प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ । पार्टीको नाम र चुनाव चिन्ह हामीसँगै नै आउँछ । यसमा कसैले द्वुविधा नमाने हुन्छ ।’

असंवैधानिक किसिमले भएको संसद विघटन संविधानअनुसार खारेज हुने र राजनीति दलसम्बन्धी कानुनले नाम र चुनाव चिन्ह आफूहरूलाई दिने उनले बताए । अहिलेको अवस्थामा संसद विघटन गर्न मिल्दैन भन्ने कुरा ओली समूहका नेताहरूलाई पनि राम्ररी थाहा भएको श्रेष्ठले बताए ।

‘संविधानको कुनै पनि धारामा प्रधानमन्त्रीले ससद विघटन गर्न सक्ने अधिकार दिएको छैन। यो कुरा केपी शर्मा ओली र उहाँको समूहका नेताहरूलाई थाहा नभएको होइन,’ श्रेष्ठले भने,‘संसदमा सरकार बन्ने सक्ने स्थिति भएन वा विश्वासको मत लिन नसक्ने अवस्था भयो भने संसद विघटन हुने संविधानमा लेखिएको छ ।’

उनले सर्वोच्च अदालत र निर्वाचन आयोगमा सेटिङ मिलाइएको छ भन्ने प्रचार गरिए पनि सेटिङ मिलाएकै आधारमा ती संस्थाहरूले काम नगर्ने बताए ।

‘संवैधानिक अंगले स्वतन्त्र रूपले काम गर्न सक्छन् । कसैको गुटले दबाब दिएर काम गर्छन् भन्ने लाग्दैन,’ उनले भने,‘प्रतिनिधि सभा पुनर्स्थापना हुन्छ। संविधान मारेर क्षत-विक्षत पार्ने अधिकार कसैलाई पनि छैन । ‘कसैलाई सत्तामा पुर्‍याउन, प्रधानमन्त्री र मन्त्री मुख्यमन्त्री बनाउन आफूहरूले पार्टी एकता नगरेको श्रेष्ठको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *