Sajhamanch Archive

रामजानकी कृषि सहकारी प्रविधि मैत्री बन्ने

Published: (Updated: ) in समाज, सहकारी by .

बिर्तामोड । झापाको बिर्तामोड स्थित रामजानकी कृषि सहकारी संस्थाको १२औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

संस्थाका अध्यक्ष दलबहादुर कार्कीको अध्यक्षता र झापा जिल्ला सहकारी संघका सचिव युवराज ढकालको प्रमुखआतिथ्यमा साधारणसभा सम्पन्न भएको हो ।

साधारणसभामा वार्षिक प्रतिवेदन प्रस्तुतगर्दै अध्यक्ष कार्कीले कोभिडको कहरमा पनि आफ्नो संस्थाले अघिल्लो वर्षको तुलनामा ३२ दशमलव ६४ प्रतिशत मुनाफा गरेको जानकारी दिए । संस्थाको शेयर पूँजी एक करोड २२ लाख १८ हजार रहेको छ भने शेयर सदस्य संख्या पाँचहजार १८२ जना पुर्याइएको छ । चालू वर्ष शेयर पूँजी एक करोड ९२ लाख ७० हजार पुर्याउने लक्ष्यरहेको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले चालु वर्ष कर्जा लगानीतर्फ १५ करोड ९६ लाख ८६ हजार २५० पुर्याउने तथा कोषमा २० लाख रुपैयाँ पुर्याउने योजना सुनाइएको छ । यसैगरी प्रविधितर्फ संस्थाको नाममा वेबसाइट बनाउने र मोबाइल बैकिङ सेवा विस्तार गर्ने योजना बनाइएको अध्यक्ष कार्कीले बताए ।
साधारणसभाका प्रमुखअतिथि जिल्ला सहकारी संघका सचिव युवराज ढकालले संस्थालाई आजको अवस्थामा ल्याउन क्रियाशील सबै सञ्चालकहरुलाई बधाई दिए । उनले हरेक सहकारी संस्थाहरुले उत्पादन र बजारीकरणलाई जोड्न सक्नुपर्ने आग्रह गरे ।

कृषि सहकारी संस्था भएकाले कृषि क्षेत्रमा काम गर्न र लगानी बढाउन सुझावदिँदै सचिव ढकालले संस्थालाई अगाडि बढाउन मन मिल्ने सहकारीहरु बीच एकीकरण गर्ने अवसरको सदुपयोग गर्न सकिने पनि बताए । उनले संस्थाका पदाधिकारीहरुलाई कार्य सफलताको शुभकामना दिँदै सहकारीको प्रगतिको कामना गरेका थिए ।

संस्थाका व्यस्थापक शुक्रराज भण्डारीले वार्षिक नीति तथा कार्यक्रम र बजेट सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै शेयर सदस्य संख्या २ हजार जना थप गर्ने सुनाए । उनले निक्षेपमा ५ करोड वृद्धि गरी १४ करोड ४५ लाख २५ हजार बनाउने लक्ष्य सुनाए ।

साधारणसभामा लेखा समिति संयोजक ज्ञानेन्द्रप्रसाद पोखरेलले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका थिए भने संस्थाका उपाध्यक्ष भिमबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए । साधारणसभा समारोहमा उपस्थित अतिथितथा संस्था परिवारका सदस्यहरुलाई कोषाध्यक्ष जीवन सुवेदीले शब्दद्वारा स्वागत गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *