Sajhamanch Archive

जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

Published: (Updated: ) in मिडियाबाट साभार, राष्ट्रिय समाचार by .

जनकपुर । माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ ।

जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिए । सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उनको भनाइ छ ।

रेल सेवा सञ्चालन गर्न आवश्यक ‘कोर’ प्राविधिक जनशक्ति आपूर्तिका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पोरेसनसँग सम्झौता हुने र जनशक्ति नेपाल आइपुग्ने महाप्रबन्धक भट्टराईले बताए ।

ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘कोर’ जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको जानकारी दिँदै उनले सम्झौता हुनेबित्तिकै उनीहरू नेपाल आइपुग्ने बताए । अब छिट्टै नै सम्झौताको काम सम्पन्न हुने र माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने उनले बताए ।

उनका अनुसार सम्झौताका लागि आवश्यक ‘डकुमेन्टस्’ समेत तयार भइसकेको छ । उनले भने, ‘‘माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने छन्, उहाँहरूले एक हप्तासम्म पार्किङमा राखिएको रेल, रेल्वे लिकलगायत सम्पूर्ण रेल्वे प्रणालीको परीक्षण गर्नुका साथै यहाँका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।’

                                                                                                                     गोरखापत्र दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *