भारतीय एसएसबीले नेपालीलाई कुटेपछि……..
Published:
by .वीरगञ्ज । भारतको भिखनाठोरीमा बजार गर्न गएका नेपालीलाई भारतीय एसएसबीले कुटपिट गरेपछि पर्साको ठोरीमा तनाव भएको छ ।
भारतीय बजारबाट सरसमान किनेर ठोरी फर्किंदै गर्दा ठुटेखोला क्षेत्रमा एसएसबीका जवानले स्थानीयमाथि कुटपिट गरेका थिए । एसएसबीका हिमांसु र जाकिर अलि खान नाम गरेका जवानले ठोरी गाउँपालिका–३ बुद्धनगरका बिष्णु घिमिरे, राजकुमार अधिकारी, भिमलाल तामाङ, विकास गुरुङ लगायतमाथि लाठीचार्ज गरेको प्रत्यक्षदर्शीले बताएका छन् ।
नेपाली पक्षमाथि कुटपिट भएपछि ठोरीका स्थानीय र भारतीय सीमाबजार भिखना ठोरीका बासिन्दा ठुटेखोलामा जम्मा भएर एसएसबीको ज्यादतीविरुद्ध नाराबाजी गरेका थिए । स्थानीयले विरोध गरेपछि लाठीचार्ज गर्ने एसएबीका दुवै जवान भागेका थिए । आक्रोशित भिडलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।
ठोरी बजारमा पसल व्यवसाय गर्दै आएकी गोकुली रेग्मीका अनुसार बिहीबार भिखनाठोरीमा हाटबजार गर्न गएका नेपालीलाई एसएसबीले कुटपिट गरेको थियो ।
नेपालीमाथि आक्रमण गर्ने एसएसबीका जवानलाई कारबाही गर्नुपर्ने मागर राखेर दुवै देशका स्थानीयले ठुटेखोला क्षेत्रमा प्रदर्शन गरेका थिए । भारतको सुभद्रास्थित सुभद्रा थानाबाट आएका एसएसबीका अधिकारीले गल्ती भएको भन्दै माफी मागेपछि विवाद सुल्झिएको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ ।
अनलाइनखबरबाट
Comments