Sajhamanch Archive

प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना निवेदन

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना गरेको भन्दै एक निवेदन सर्वोच्चमा पुगेको छ ।

वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्य प्रधानमन्त्रीजस्तो जिम्मेवार पदाधिकारीले अदालत र इजलासको सम्मान गर्नुपर्ने भए पनि इजलासलाई निन्दा र हास्यको विषय बनाइएको तर्क गर्दै निवेदन लिएर सर्वोच्च पुगेका हुन् ।

रिट निवेदन दर्ता हुने नहुने बारेमा भोलि ११ बजे जानकारी गराइने निवेदक शर्माले जानकारी दिए ।

“सामान्य व्यक्तिलाई पनि क्षम्य नहुने व्यवहार प्रधानमन्त्रीजस्तो जिम्मेवार व्यक्तिलाई झनै क्षम्य हुँदैन । त्यसैले म कसैको तर्फबाट पनि वकालतनामा नलगाएर अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दामा तटस्थ बसेको एक जिम्मेवार कानुन व्यवसायीले विपक्षीको अमर्यादित बोली र व्यवहारले अदालतको अवहेलना भएको महसुस गर्दै अदालत र इजलासको साख बचाउन आफैँ यो निवेदन गर्न आएको छु,” उनले निवेदनमा भनेका छन् ।

उनले निवेदनमा भनेका छन्, “मैले दिएको प्रस्तुत निवेदनको आधारमा विपक्षीका विरुद्ध आवश्यक कार्यविधि अपनाई स्वयम् अदालतमा झिकाई विपक्षीलाई सम्मानित अदालतबाट अदालतको अवहेलनामा कारवाही चलाई निजलाई न्याय प्रशासन ऐन, २०७३ को दफा १७ बमोजिम हदैसम्मको सजायसमेत गरी पाउँन सम्मानित अदालतलाई सादर अनुरोध गर्दछु ।”

प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंमा भएको एक कार्यक्रममा ‘एकजना बाजे वकिल पनि लिएर गएछन् तमाशा देखाउन’ भन्दै सर्वोच्च अदालतमा हुने बहसलाई ‘तमासा’ र अदालतमा बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ जस्तो शब्द प्रयोग गरेको भन्दै निवेदनमा आपत्ति जनाइएको छ ।

                                                                                                                             बाह्रखरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *