Sajhamanch Archive

‘माउण्ट केटू म पनि जान पाएको भए…’

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठट्यौली पारामा हिमाल आरोहण जोखिमपूर्ण भएको र जो कोहीले आरोहण गर्न नसक्ने जनाउँदै सहज भएको भए आफू पनि आरोहणमा जान सक्ने बताएका छन्।

विश्वको दोस्रो अग्लो हिमाल माउण्ट ‘केटू’ को कीर्तिमानी आरोहण गरेर स्वदेश फिर्ता भएका निर्मल पूर्जालगायतका दश नेपाली आरोहीलाई मङ्गलबार बधाई व्यक्त गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

उनले भने, ‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो, १० जनामा ११ हुन्थ्यो, प्रधानमन्त्री नै आरोहणमा गएपछि अझ बढी धुमधाम हुन्थ्यो होला, त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने थिए होला ।

जीवनकै जोखिम मोलेर विश्वकै कठिन हिमालको सफल आरोहण गरि फर्केका आरोहीको स्वागत तथा सम्मान गर्दै उनले आरोहणले देशको पहिचानलाई बढाउनाका साथै नेपाल साँच्चिकै बहादुरहरूको देश भएको पुष्टि गरेको बताए ।

सबै पर्वतारोही साहसका प्रतीक हुन् भन्दै प्रधानमन्त्री ओलीले असाधारण साहसका साथ आरोहीले देखाएको बहादुरीपूर्ण कार्यको प्रशंसा गरे । ‘निकै मेहनत र परिश्रमका साथ केटू जस्तो कठिन हिमाल आरोहण सफलता प्राप्त गर्नु देश र सरकारकै तर्फबाट हार्दिक स्वागत र बधाई ज्ञापन गर्दछु, तपाईँहरूको यो साँच्चिकै प्रशंसायोग्य काम हो’, उनले भने ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *