Sajhamanch Archive

यस्ताे छ वामदेवको एकता अभियानकाे सङ्गठनात्मक संरचना

Published: (Updated: ) in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुई खेमामा विभाजन भएपछि उपाध्यक्ष गौतमले पार्टी एकताको अभियान चलाएका हुन् ।

उपाध्यक्ष गौतमले घोषणा गरेको एकता अभियानमा देशव्यापी रुपमा तल्लो तहसम्म सङ्गठनात्मक संरचना निर्माण गर्ने अवधारणा सार्वजनिक गरेका छन् । एकता अभियान घोषणा गर्दै उपाध्यक्ष गौतमले पार्टी एकता राष्ट्रिय अभियान संचालनका लागि केन्द्रमा एक अधिकार सम्पन्न केन्द्रीय समन्वय समिति रहने उल्लेख गरेका छन् ।

यसमा अधिकतम ६ सय ५१ सदस्यीय र केन्द्रीय समन्वय समितिमा अधिकतम् १ सय ७५ जनाको कार्यसम्पादन समिति हुनेछ । दैनिक कामका निम्ति आवश्यक सचिवालय निर्माण गरिने छ ।

प्रत्येक प्रदेशमा प्रदेश समन्वय समिति र त्यसमा प्रदेशअन्तर्गत रहेका केन्द्रीय सदस्यहरु र जिल्ला समितिका संयोजकहरू पदेन सदस्यका रुपमा रहने उल्लेख गरेको छ। प्रदेश समन्वय समितिमा आवश्यक संख्याको एक सचिवालय रहने बताइएको छ ।

तल्लो तहसम्म संरचना

प्रत्येक जिल्लाका पालिकाहरुमा समेत प्रतिनिधित्व हुनेगरी अधिकतम ७५ सदस्यीय जिल्ला समन्वय समिति निर्माण गरिने उल्लेख छ। जिल्ला समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुने र जिल्लामा रहेका केन्द्रीय समन्वय समितिका सदस्यहरु आमन्त्रित रुपमा बैठकमा भाग लिनेछन् र पालिकाहरुमा निर्देशकका रुपमा खट्नेछन् ।

प्रत्येक पालिकामा वडाहरुको समेत प्रतिनिधित्व हुने गरी अधिकतम ५१ सदस्यीय पालिका समन्वय समिति निर्माण गरिनेछ। पालिका समन्वय समितिमा आवश्यक संख्याको सचिवालय हुनेछ । पालिकाका बैठकमा त्यहाँ रहेका जिल्ला समन्वय समितिका सदस्य र केन्द्रीय समन्वय समितिका सदस्यहरुले आमन्त्रित रुपमा भाग लिन सक्नेछन् ।

प्रत्येक वडामा अधिकतम १५ जनाको संख्यामा समन्वय समिति र आवश्यक संख्याको सचिवालय हुनेछ। केन्द्रदेखि पालिका तहसम्म आवश्यक सदस्य संख्यामा परिषद्हरु गठन गर्न सकिनेछ । सम्बन्धित समितिका पदाधिकारी तथा सदस्यहरु परिषद्का पदेन पदाधिकारी तथा सदस्य हुनेछन् ।

सबै तहका समितिहरुमा संयोजक, सहसंयोजक, सचिव, सहसचिव, कोषाध्यक्ष र सदस्य रहने व्यवस्था गरिनेछ। केन्द्रीय समन्वय समितिमा संगठन, प्रशिक्षण र प्रचार प्रसारका कार्य गर्न थप ३ सहसचिवहरुको व्यवस्था गर्न सकिनेछ ।

अर्को व्यवस्था नभएसम्म अभियानका सबै समिति र सदस्यहरु यसै अवधारणापत्रको व्यवस्था अनुसार परिचालित हुने उल्लेख छ। एकता अभियानले गरेका कामको समीक्षासहित अभियानमा संलग्न सम्पूर्ण अभियन्ताहरु राजनीतिक सुनिश्चितता गर्दै केन्द्रीय समन्वय समितिको बैठकबाट अभियानको निरन्तरताका सम्बन्धमा आवश्यक निर्णय गरिने जनाएको छ ।

अभियानका कार्यभार

उपाध्यक्ष गौतमले पार्टी एकता हुने दाबीसहित अभियानको मुख्य कार्यभार पार्टी एकतालाई जोगाउने नै रहेका उल्लेख गरेका छन् ।

एकताको लागि प्रत्येक टोल–टोलमा एकता पक्षधरको भेला बैठक आयोजना गरी विभाजनबाट हुने क्षतिबारे जानकारी गराउने र आम मतदाता समक्ष एकताको अनिवार्यता र आवश्यकताबारे जानकारी गराउने अवधारणा पत्रमा उल्लेख छ ।

पार्टी एकताको अभियानमा व्यापक जनपरिचालन गर्ने लक्ष्यसमेत लिइएको छ । आपत विपतमा परेका परिवार र कुनै पनि व्यक्तिलाई राहत उद्वार गर्ने, आर्थिक अभावका कारण विद्यालय जान नपाएका बालबालिकाहरूलाई विद्यालय पठाउने व्यवस्था गर्ने, आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाएका व्यक्तिहरुलाई उपचारको व्यवस्था मिलाउने पनि आफ्नो कार्यभारमा समावेश गरेको छ ।

यस्तै, कानूनी उपचार नपाएका व्यक्तिहरुलाई कानूनी उपचारका लागि सक्दो सहयोग गर्ने, अभियानका प्रत्येक सदस्यले आफ्नो समितिमा र प्रत्येक समितिले आफु भन्दा माथिल्लो समिति र केन्द्रीय समितिलाई जानकारी गराउनेसम्मको जिम्मेवारी बाँडफाँड गरेको छ ।

                                                                                                                         थाहा खबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *