Sajhamanch Archive

मनकामना मन्दिर बनाउन १५ किलो सुनले पुगेन

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

गोरखा । गोरखाको मनकामना मन्दिरको जीर्णोद्धारका क्रममा अहिलेसम्म १५ किलो सुन खर्च भएको छ ।

त्यतिले पनि मन्दिरको छानामा सुनको जलप लगाउन नपुगेपछि थप ३ किलो सुन खरिद गरिएको छ ।

‘अहिले सम्म १५ किलो सुन खर्च भइसक्यो,’ जीर्णोद्धार समितिका संयोजक नरेन्द्रबाबु श्रेष्ठले भने, ‘तीन किलो सुन नपुगेर काम रोकिएको थियो, अहिले सुन ल्याइसक्यौं, काम पनि भइरहेको छ ।’

मन्दिर जीर्णोद्धारका लागि पुरातत्व विभागबाट निकासा भएको चार करोड रकमले सात किलो सुन खरिद गरिएको थियो ।
समितिले भक्तजनबाट संकलित रकमबाट थप आठ किलो सुन खरिद गरेर छाना बनाउने काम भइरहेको थियो । तर त्यसले पनि अपुग भएपछि तीन किलो सुन खरिद गरिएको श्रेष्ठले बताए ।

यसअघि मन्दिरको छानामा मात्र सुनको जलप लगाउने निर्णय भएको थियो । तर काम गर्दे जादा मूलढोका, कंकालको मूर्ति, तोरण र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने निर्णय भएको उनले जानकारी दिए ।

सुन खरिदका लागि करिब दश करोड रुपैयाँ खर्च भइसकेको उनले जानकारी दिए ।

हालसम्म मन्दिर जीर्णोद्धारमा १३ करोड रुपैयाँ खर्च भइसकेको समितिको हिसाब छ । ‘पैसाको अभाव छैन, भक्तजनबाटै आठ करोड रुपैयाँ उठेको छ, स्थानीयले पनि सहयोग गरेका छन्,’ उनले भने ।

मन्दिर जीर्णोद्धारको काम करिब ९८ प्रतिशत सकिएको छ । ‘स्ट्रक्चरको काम सकियो, एक हप्तामा सुनको जलप लगाउने काम पनि सकिन्छ,’ श्रेष्ठले भने ।

अब आँगनमा ढुङ्गा छाप्ने र छेउछाउमा पर्खाल लगाउने काम बाँकी छ । मन्दिरको पश्चिम भागमा ‘रिटेनिङ वाल’ लगाउन पुरातत्व विभागले बजेट स्टिमेट तयार गर्दैछ ।

दशैसम्ममा भक्तजनलाई मन्दिरबाटै पूजा गर्ने व्यवस्था मिलाउने गरी काम भइरहेको उनले बताए ।

रकम बाँकी रहे मन्दिरको पूर्वपट्टी भागमा धर्मशाला बनाउने योजना समितिको छ ।

भूकम्पअघि नै मन्दिर ६ इन्च ढल्किएको थियो । २०७२ वैशाखको भूकम्पले थप ढल्किएपछि पुनर्निर्माण थालिएको हो ।

२०६८ सालमा पुनर्निर्माणका लागि करिब आठ करोडलागत इस्टमेट गरिएको थियो ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *