Sajhamanch Archive

प्रदेशसभा बैठक तत्काल सञ्चालन गर्न संसदहरुको माग

Published: (Updated: ) in प्रदेश तह, राजनीति by .

विराटनगर । अनिश्चिकालका लागि स्थगित भएको प्रदेश १ को हिउँदे अधिवेशन बैठक तत्काल सञ्चालन गर्न सांसदहरूले माग गरेका छन्। गत माघ ७ मा प्रदेशसभा बैठक तीन मिनेट बसेर स्थगित भएको थियो ।

मुख्यमन्त्रीविरुद्ध गत पुस १२ मा प्रदेशसभामा अविश्वास प्रस्ताव दर्ता भएको एक महिना बितिसक्दा पनि त्यसमाथि छलफल सुरु भएको छैन । तर, उक्त प्रस्ताव बैठकमा टेबलसमेत नभएकाले सांसदहरुले तत्काल बैठक सञ्चालन गर्न सभामुखको ध्यानाकर्षण गरेका हुन्  ।

प्रदेश सरकारका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, निवर्तमान सामाजिक विकासमन्त्री जीवन घिमिरेलगायत प्रदेशसभा सदस्यहरुले शुक्रबार सभामुख प्रदीपकुमार भण्डारीलाई भेटेर अविलम्ब बैठक राख्न र अविश्वासको प्रस्ताव अगाडि बढाउन ध्यानाकर्षण गरेका छन् ।

संविधानअनुसार प्रदेशसभाका एक चौथाई सांसदले अविश्वासको प्रस्ताव पेश गरेर प्रदेशसभामा दर्ता भइसकेकाले प्रक्रियामा लैजान अलमल गर्नुपर्ने अवस्था नरहेको प्रदेशसभा सदस्य आङ्बो बताउँछन् ।

‘प्रदेशसभाका २५ प्रतिशतभन्दा बढी सदस्यले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव पेश गर्नुभएको छ,’ आङ्बोले भने, ‘हामी चाहन्छौं संविधान र कानुनबमोजिम पेश भएको प्रस्ताव संसदको प्रक्रियामा बढोस् र सदन तत्काल सञ्चालन होस् ।’ सरकारको नाजायज दबाबकै कारण प्रदेशसभा बन्धक बन्न नहुनेमा सभामुखको ध्यानाकर्षण गराएको उनको भनाइ छ ।

पूर्वमन्त्री जीवन घिमिरेले सदनमा एउटा विषय उठान भइसकेकाले यसलाई प्रक्रियामा लगेर छिटोभन्दा छिटो टुंगो लगाउनुपर्ने बताए । ‘एकै दिन सुरु भएको बागमती प्रदेशसभाको बैठकमा अविश्वास प्रस्ताव टेबल भएर छलफल अगाडि बढ्ने निश्चित भएको छ,’ घिमिरेले भने, ‘प्रस्ताव अगाडि बढाउन ढिलो भयो, थप ढिलाइ गरिरहने कुरा कुनै पनि दृष्टिकोणबाट राम्रो हुँदैन ।’

त्यस्तै, प्रदेससभा सदस्य राजेन्द्र राईले सरकारले विश्वास गुमाइसकेपछि जतिसक्दो छिटो मुख्यमन्त्रीले राजीनामा गर्नुपर्नेमा प्रदेशभालाई समेत बन्धक बनाउने प्रयास गरेको भन्दै आपत्ति प्रकट गरे । सरकारको क्रियाकलापले थिति बिग्रँदै गएको भन्दै राईले सभामुखलाई थिति बसाउने अवसर प्राप्त भएकाले तत्काल प्रदेशसभा बैठक सञ्चालन गर्न र प्रस्ताव अघि बढाउन आग्रह गरे ।

जनता समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले सदन चाँडै सञ्चालन हुनुपर्ने बताएका छन् । लामो समय सदन स्थगित हुँदा राम्रो सन्देश नजाने भन्दै उनले बैठकलाई सञ्चालन गराउने विषयमा सभामुखले पहल लिनुपर्ने बताए ।

सभामुख प्रदीपकुमार भण्डारीले सरकारसँग परामर्श गरेर छिट्टै बैठक बोलाउने आश्वासन दिएका छन् । उनले संविधान र कानुन बमोजिम प्रदेशसभा सञ्चालन हुने भन्दै प्रदेशसभामा आएको प्रस्तावबारे आफू जानकार रहेको तथा प्रदेशसभा बन्धक नहुने प्रतिवद्धता व्यक्त गरे ।

                                                                                                             थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *