Sajhamanch Archive

आफ्ना सदस्य र समाज कै सहारा बन्दै सहारा साकोस

Published: in मुख्य समाचार, सहकारी by .

झापा । नेपालको सहकारी अभियानमा सदस्य संख्या, आर्थिक कारोबारसहित सामाजिक योगदानमा अग्रणी रहेको झापाको सहारा नेपाल (साकोस) लिमिटेडलाई प्रदेशस्तरीय संस्था बनाउन सञ्चालकहरुले कम्मर कसेका छन् ।

संस्था स्थापनाको २२औं वर्ष पूरा गरिरहँदा सदस्य र समुदायको हितको लागि सहाराले थुप्रै रचनात्मक सामाजिक कामहरु निर्वाह गरिरहेको छ । हाल प्रदेश १ का ६ वटा जिल्लामा ६० वटा सेवा केन्द्रमार्फत् संस्थाले सेवा प्रवाह गर्दा गत असार मसान्तमा एक लाख ३५ हजार ६७७ जना शेयर सदस्यहरु रहेकोमा छिट्टै संस्थालाई प्रदेशभर कार्यक्षेत्र बिस्तर गरी पाँच लाख शेयर सदस्य बनाउन प्रयासरत रहेको जनाइएको छ ।

सहाराले शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा पत्रकार सम्मलेनको आयोजना गरी असार मसान्तको वित्तीय अवस्थासहित नयाँ योजनाहरु एवम् सामाजिक योगदानका बारेमा जानकारी गराएको हो । सोअनुसार २०७५ असार मसान्तसम्मको अपरिस्कृत लेखा परीक्षणको आधारमा शेयर पूँजी ७९ करोड ६६ लाख ८० हजार ४०० रुपैयाँ पुर्याइएको छ ।

यस्तै संस्थामा तीन अर्ब ५८ करोड ९८ लाख २९ हजार ८२१ रुपैयाँ निक्षेप रहेको छ भने ८४ करोड ६५ लाख रुपैयाँभन्दा बढीका विभिन्न कोषहरुमा रकम सञ्चित रहेको जनाइएको छ ।

संस्थाका अध्यक्ष ताराप्रसाद सञ्जेलले हस्ताक्षर गरी वितरण गरिएको प्रेस विज्ञप्तीमा जनाइए अनुसार आफ्ना सदस्यहरुमाझ पाँच अर्ब ६९ करोड ६४ लाख ७४ हजार ३३६ रुपैयाँ कर्जा प्रवाह गरिएको छ भने संस्थाले पनि एक अर्ब ६१ करोड ६३ लाख ७० हजार ३३६ रुपैयाँ बाह्य ऋण लिएको छ ।

गएको असार मसान्तमा संस्थासँग कूल सम्पत्ती तथा दायित्व ६ अर्ब ९२ करोड ३३ लाख ७४ हजार ५७९ रुपैयाँको वासलात बनेको जनाइएको छ । संस्थाले आफ्नो वित्तीय कारोबारलाई पूर्णरुपमा पारदर्शिता कायम गरी सरकारलाई नियमित कर तिरेको उल्लेख छ ।

गत आर्थिक वर्षको कारोबारमा संस्थाले आयकर वापत ५ करोड ९६ लाख ६ हजार ३८३ रुपैयाँ र अन्य कर वापत २ करोड १८ लाख १९ हजार ५७५ रुपैयाँ गरी कूल ८ करोड १४ लाख २५ लाख ९५८ रुपैयाँ करमा योगदान गरेर सम्भवतः देशभरका सहकारी संस्थाहरुमध्ये सबैभन्दा बढी कर बुझाउने संस्थाको रुपमा पहिचान बनाएको छ ।

पत्रकार सम्मेलनमा संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले सहारा नेपालले आर्थिक क्षेत्रमा मात्र सदस्यहरुलाई सेवा प्रवाह गरेको नभई सामाजिक अभियानमा पनि सहाराको भूमिका उल्लेखनीय बनाउँदै लगेको बताए ।

संस्थामा आवद्ध महिला शेयर सदस्यहरुलाई शसक्तिकरण र नेतृत्व विकासमा योगदान पुर्याएको दावी सहाराले गरेको छ । संस्थामा आवद्ध ९८ प्रतिशतभन्दा बढी महिला शेयर सदस्यहरु बचत, ऋण र उद्यमशिलताको माध्यमबाट शसक्तिकरण भई ६०० भन्दा बढी महिलाहरु स्थानीय तह, विद्यालय, संघ/संस्थाहरुमा नेतृत्वदायी भूमिकामा रहनु यसैको परिणाम भएको संस्थाको दावी छ ।

संस्थाका कार्यकारी प्रमुख गिरीले सहारामार्फत् सामाजिक क्षेत्रका विविध पक्षमा रचनात्मक योगदान दिइरहेको बताउँदै भनेका छन्ः ‘संस्था आफ्ना सदस्यको स्वास्थ्य सेवामा समर्पित छ र नै आफ्ना सदस्यहरुको उपचारका लागि बितेको तीन वर्षमा ११ करोड ६६ लाख ६ हजार २२५ रुपैयाँ खर्च गरेको हो ।’

संस्थाले सञ्चालन गरेको आश्रय कार्यक्रममार्फत् विपन्न परिवारको लागि ५३८ वटा आवासगृह निर्माण गरी हस्तान्तरण गरिसकेको जानकारी गराउँदै कार्यकारी प्रमुख गिरीले अब विभिन्न स्थानीय तहसँगको समन्वयमा २५० वटा घर निर्माणको प्रक्रियामा रहेको जानकारी दिए ।

यस्तै, हालसम्म विभिन्न ५ स्थानमा ज्येष्ठ नागरिक चौतारी निर्माण सम्पन्न गरिसकेको संस्थाले स्थानीय तहसमेतको सहकार्यमा ५० वटा चौतारी निर्माण गर्न ४ करोड रुपैयाँको व्यवस्थापन गरिएको जनाइएको छ ।

प्रदेशस्तरीय मह उद्योगको स्थापना गर्ने, तीन वर्ष भित्रमा १५ हजार किसानलाई बाख्रा र कुखुरापालन व्यवसायी बनाउने लक्ष्य राखेको सहराले कृषि क्षेत्रमा अग्रसरता जनाउँदै माछा उत्पादन तथा तरकारी खेतीमा किसानलाई आकर्षित गर्ने नीति बनाएको पनि जनाइएको छ ।

संस्थाले उपभोक्तालाई गुणस्तरीय मासु उपभोग गर्ने अवसर प्रदान गर्न फ्रेस हाउस स्थापना गर्नेलगायत विगतदेखि नै सञ्चालित कार्यक्रमहरुलाई थप रचनात्मक बनाउने लक्ष्य लिइएको पत्रकार सम्मेलनमार्फत् जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *