भद्रपुरमा निर्माणको दशकमा पनि शीत भण्डार सञ्चालनमा आएन
Published: (Updated: )
by .भद्रपुर । भद्रपुर नगरको विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने संरचनाका रूपमा रहेको निर्माणाधीन शीत भण्डार दशकयता अलपत्र परेको छ ।
भद्रपुरको उन्नतिमा एउटा इटा बन्न सक्ने कोल्ड स्टोरेज (शीतभण्डार) निर्माणको दशक बितिसक्दा पनि सञ्चालनमा आउन नसकेर अलपत्र परेको हो ।
नेपालस्थित भारतीय दुतावासमार्फत नेपालकै पूरानो तथा झापाको पहिलो नगर भद्रपुरमा कोल्ड स्टोरेज बनाउनका लागि २०६७ सालमा बजेट निकासा गरी १५ महिनामा सम्पन्न गर्ने गरी काम सुरू भएको थियो । भारतीय दुतावासले अनुदान स्वरूप वजेट निकासा गरेपछि नगरपालिकाले टेण्डर आव्हान गर्दै ठेक्का प्रक्रियामार्फत २०६७ पौषमा कोल्ड स्टोरेज निर्माण कार्य सुरु गरेको थियो ।
त्यतिबेला कर्मचारीको हातमा रहेको स्थानीय सरकार अहिले जनप्रतिनिधिको हातमा आएको पनि ४ वर्षे अवधि पार हुन लाग्दा समेत अलपत्र संरचातर्फ नगरपालिकाका जनप्रतिनिधिले चासो नदेखाएको स्थानीय विकास गुप्ताको गुनासो छ । उनले भने—जनप्रतिनिधिले जिम्मेवारी सम्हालेको चार वर्ष हुन लागेको छ । नगरका कृषकका उत्पादन सुरक्षा गर्ने संरचना अलपत्र छ भन्दै गुप्ताले समृद्ध भद्रपुर यही हो ? भन्दै प्रश्न समेत गरे ।
कुल ४ करोड ७८ लाख ७३ हजार २५८ रुपैयाँ ९० पैसाको लागत इस्टिमेटमा निर्माण भइ रहेको शीतभण्डारको निर्माण ठेक्का सुनौला खिम्ती कन्स्ट्रक्सन कम्पनीले ४ करोड १३ लाख ३७ हजार ३७४ रुपैयाँ ९६ पैसा (भ्याटसहित) मा १५ महिनामा काम सम्पन्न गरिसक्ने गरी नगरपालिकासँग सम्झौता गरेको थियो सम्झौताबमोजिम २०६७ पुस १५ गते काम सुरु गरेको १५ महिनामा अर्थात् २०६८ चैत्र १६ गतेसम्ममा काम समाप्त गर्नु पर्ने थियो । अहिलेसम्म काम सकिएको देखिदैन । यस विषयमा नगर प्रशासनले कुनै चासो राखेको अवस्था पनि छैन । दाताबाट आएको करोडौं अनुदान बेवारिसे भएको नगरबासीको भनाइ छ ।
भद्रपुर कृषक समूहका नाममा खरिद गरिएको साविक भद्रपुर–१ (हाल भद्रपुर–५) स्थित नयाँ बजारमा मेची नदीको डिलमा पर्ने उक्त जग्गामा कोल्ड स्टोरेज निर्माण सुरु गरेको १० वर्ष भइसकेको छ । ठेकेदारले बल्लतल्ल दश वर्षको अवधिमा भवन निर्माण कार्य पूरा गरी रंगरोगन गरिसकेको छ । कोल्ड स्टोरेजभित्र चाहिने आवश्यक थर्मोकुलर जडान भए पनि ग्यास हाल्नुपर्ने, ट्रान्समिटर, जेनेटर, बिजुलीको सामान जडान र अन्य केही मेसिनरी जडान लगायतका मुख्य काम अझै हुन बाँकी देखिएको छ । ‘कोल्ड स्टोरेजमा केही महत्वपूर्ण काम अझै बाँकी भए पनि अहिलेसम्म ठेकेदार कम्पनीले साढे तीन करोड बढी रकम लगिसकेको देखिएको छ ।
नगरपालिका प्रशासनका अनुसार कोल्ड स्टोरेजको काम सम्पन्न हुन अब १० प्रतिशत मात्र बाँकी छ । मुख्य ठेकेदारले इटहरीका एक व्यक्तिलाई पेटी ठेक्कामा काम गर्न दिएको हुँदा मुख्य ठेकेदारले काम गरेको रकम लाने र पेटी ठेकेदारले रकम नपाएपछि यो कोल्डस्टोरेज वर्षौदेखि अलपत्रमा परेको समेत नगर प्रशासनको भनाइ छ ।
नगरपालिकाले इस्टिमेट गर्दादेखि नै कोल्ड स्टोरेजमा विवाद देखिएको थियो । प्राप्त विवरण अनुसार, भद्रपुरको विकासलाई टेवा पुर्याउन नेपाल–भारतमैत्री संघको पहलमा भद्रपुरमा कोल्ड स्टोरेज निर्माणका लागि भारतीय दूतावाससँग आग्रह गरिएको थियो । दूतावासले पनि कोल्ड स्टोरेज निर्माण गर्न सहयोग गर्ने भएपछि भद्रपुरका उद्योगीहरूले कोल्ड स्टोरेज आफूहरूको हातबाट नफुत्किओस् भनेर हतार–हतार नेपाल–भारतमैत्री संघमा आबद्ध भएकामध्ये पनि सीमित व्यक्तिहरूलाई समाविष्ट गरी कृषक समूह नामको प्राइभेट कम्पनी दर्ता गराएका थिए । उद्योगीलाई मात्र शेयर सदस्य बनाइएको सो कृषक समूहलाई भारतीय दूतावासले सहयोग नगर्ने र वास्तविक कृषि पेशामा लागेका कृषकको समूहलाई मात्र मान्यता दिने भएपछि तिनै उद्योगीले पुनः भद्रपुर कृषक समूह नामक गैरसरकारी संस्था दर्ता गराए । उद्योगीहरूले गैरसरकारी संस्था दर्ता गराए पनि दूतावासले स्थानीय निकाय मार्फत मात्र सहयोग गर्ने भएपछि कृषि समूहले भद्रपुर—१ मा रहेको गोविन्द सरियाको झण्डै एक बिगाह जग्गा खरिद गरी सोही जग्गामा कोल्ड स्टोरेज बनाउन नगरपालिका र भारतीय दूतावासमा लबिङ गरेको थियो ।
भारतीय दूतावासले इस्टिमेटअनुसार कोल्ड स्टोरेज निर्माण गर्न रकम उपलब्ध गराउने भएपछि कृषक समूहको जग्गामा निर्माण गरिने, दूतावासको आर्थिक सहयोग र नगरपालिकाको प्राविधिक सहयोग रहने गरी त्रिपक्षीय सहमति भएको थियो । सहमति अनुसार नै नगरपालिकाले २०६७ जेठ २० गते पहिलोपल्ट कोल्ड स्टोरेज निर्माणका लागि टेण्डर आव्हान गर्यो । पहिलोपल्टको सूचनामा परेका टेण्डरहरूलाई नगरपालिकाले विभिन्न बहाना बनाएर चित्तबुझ्दो नभएको भन्दै पुनः सूचना प्रकाशित गर्यो । दोस्रो पटकको सूचना अनुसार टेण्डर दर्ता गराउने अन्तिम दिन भने नगरपालिकामा ठूलै बिबाद हुन पुग्यो । नगरपालिकाले फेरि टेण्डर स्वीकृत गर्ने समयमा अंशभागलाई लिएर सर्वदलीय संयन्त्र र नगरपालिकाका बीचमा पनि विवाद भएको थियो । दलहरू पार्टीको हैसियत अनुसारको भाग लाग्नुपर्ने अडानमा रहेका थिए भने नगरपालिका सबै दललाई समान भागबण्डा लगाउनेमा टेण्डर स्वीकृत भएपछि र तत्कालीन कार्यकारी अधिकृत मदन घिमिरेले आफैंले सुटुक्क शिलान्यास गरेका थिए । घिमिरेले शिलान्यास गरेपछि काम सुरु गरिएको सो कोल्ड स्टोरेजमा कहिले २ नम्बरी (कमसल) इँंटा प्रयोग भएको त कहिले सिमेन्ट कम र बालुवा बढी मिसावट गरिएको तथा रड पनि इस्टिमेटअनुसार प्रयोग नगरिएको जस्ता विभिन्न विवादहरू आइनै रहे । तर, विभिन्न राजनीतिक, प्राविधिक विवादका बीचमा पनि निर्माण कार्य भने सञ्चालन भइरहेको थियो ।
नगरपालिकाले गरेको कोल्ड स्टोरेजको डिजाइन चित्तबुझ्दो नभएकोले सोही बेला स्थानीय र केही दलका प्रतिनिधिले विरोध गरेका थिए । सोही बेला कोल्ड स्टोरेजको निर्माणाधीन भवनको पिलरहरू र बिम समेत कमसल गुणस्तरका कारण चर्केका विरोधका स्वर सम्बन्धित कार्यालयमा सचेत नागरिकहरूबाट आउन थालेका थिए । स्थानीय ५ नम्बर. वडाबासीले त नगरपालिकामा सामूहिक उजुरी नै दिएका थिए । तर पनि सुनुवाइ नभई सुस्त रूपमा काम भई रहेको थियो । अहिले जनप्रतिनिधि निर्वाचित भएर नगरपालिकाको जिम्मेवारी सम्हालेको तीन वर्ष पूरा गर्दै गरेको अवस्थामा पनि नगरको विकासमा महत्वपूर्ण संरचना बेवारिसे भइरहेका छन् । स्थानीय सरकार शक्तिशाली तथा अधिकार सम्पन्न भए पनि अलपत्र संरचना निर्माण सम्पन्न गराई सञ्चालनमा निरीह देखिएको छ ।
Comments