Sajhamanch Archive

भीआईपीले नियमविपरीत राखेका सुरक्षाकर्मी धमाधम फिर्ता

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । सरकारले पूर्वराजा, पूर्वप्रधानमन्त्रीसहित पूर्वविशिष्ट व्यक्ति (भीआईपी)ले कार्यविधि विपरीत राख्दै आएका सुरक्षाकर्मी धमाधम फिर्ता गर्न थालेको छ ।

गृह मन्त्रालयले पूर्व विशिष्टको सुरक्षाका लागि खटाइने सुरक्षाकर्मीबारे नयाँ मापदण्ड बनाएपछि सरकारले मापदण्ड विपरीत पर्ने सुरक्षाकर्मी फिर्ता गर्न थालेको हो । गृह मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले केही समय अघि पूर्वविशिष्ट व्यक्तिको सुरक्षा सम्बन्धी कार्यविधि २०७७ पारित गरेको थियो ।

नयाँ स्वीकृत कार्यविधि अनुसार अब पूर्वराष्ट्रपतिले २१ जना, पूर्वप्रधानमन्त्रीले १८ जना, पूर्वराजाले १६, पूर्वउपराष्ट्रपतिले ११ र पूर्वगृहमन्त्रीले दुई जनासुरक्षाकर्मी राख्न पाउने छन्भने पूर्वप्रधानन्यायाधीश र पूर्वप्रहरी महानीरीक्षकले पनि दुई जना सुरक्षाकर्मी राख्न पाउने छन् ।

गृह प्रवक्ता चक्रबहादुर बुढाले नयाँ कार्यविधि कार्यान्वयनगर्न सम्बन्धित निकायलाई निर्देशन भइसकेको जानकारी दिए । ‘पूर्वविशिष्ट व्यक्तिलाई कति सुरक्षाकर्मी आवश्यक छ र कति दिनुपर्ने भन्ने यकिन भइसकेको छ, यकिन भएको भन्दा बढी भए फिर्ता हुन्छ । त्यहीअनुसार सम्बन्धित निकायमा निर्देशन भइसकेको छ,’ गृह प्रवक्ता बुढाले भने ।

नयाँ कार्यविधि पारित भएपछि नेपाल प्रहरी तर्फबाट पूर्वभीआईपीकोमा खटिँदै आएका ७७ जना प्रहरी फिर्ता भइसकेका छन् । यसैगरी, सशस्त्र प्रहरी बल तर्फबाट ९१ जना सुरक्षाकर्मी फिर्ता भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

                                                                                                          राजधानी दैनिकबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *