Sajhamanch Archive

साहारा नेपालद्वारा चुलाचुलीमा बाख्रापालन तालिम

Published: in मुख्य समाचार, सहकारी, by .

कमल । सहारा नेपाल बचत तथम ऋण सहकारी संस्थाले बाख्रापालन व्यवसाय गर्दै आएका आफ्ना सदस्यहरुलाई क्षमता अभिवृद्धि सम्बन्धी दुई दिनको तालिम प्रदान गरेको छ ।

इलामको चुलाचुली र दमक नगरपालिकामा रहेर व्यवसायिक रुपमा बाख्रापालन गर्दै आएका सदस्यलाई माघ २८ र २९ गते तालिम प्रदान गरिएको हो । सदस्यहरुलाई बाख्रापालन सम्बन्धी तालिम प्रदान गरेर उद्यमशिल बनाउने उद्देश्य राखिएको सहारा नेपाल दमक सेवा केन्द्रका प्रमुख डम्बर प्रधानले बताएका छन् ।

तालिममा सहभागी चुलाचुली ७ की कृषक नैनकला भट्टराई भन्छिन्, ‘तालिमबाट धेरै कुरा सिकियो । हिजो आफ्नै तरिकाले बाख्रापालन गर्दै थिएँ । चारवटा माउ बाख्राबाट सुरु गरेको व्यवसाय अहिले ४०–४५ वटा बनाएकी छु । तर व्यवसायिक बन्नका लागि सो संख्यालाई बढाएर २००–३०० सम्म पुर्याउनु पर्ने रहेछ, म त्यही गर्ने लक्ष्यमा पुगेकी छु ।’

तालिमका अर्का सहभागी दमक २ का नेत्रकुमार मगरले तालिम अनुभव सुनाउँदै भनेका छन्, ‘हिजो जुन हिसाबले हामी बाख्रा पाल्थ्यौं, त्यो विधि एकदमै गलत रहेछ । तलिमबाट धेरै कुरा सिक्ने अवसर मिल्यौ । बाख्राका जात, आहारा व्यवस्थापन, खोप लगायतका बारेमा जनाकारी भयो । तालिमले हामी कृषकलाई उद्यमी बन्न ठुलो सहयोग पुग्ने विश्वास बढेको छ । अब म आफ्नो व्यवसायलाई अझ राम्ररी चलाउन सक्छु भन्ने आत्मवल बढेको छ ।’

सस्थामा आवद्ध बाख्रापालक कृषकलाई व्यवसायिक बनाउने उद्देश्यले तालिमको आयोजना गरिएको जानकारी दिँदै सहारा नेपालका पशु प्राविधिक डा. कम्लेश्वर भाटले भने, संस्थाले हालसम्म कार्यक्षेत्र भित्रका पाँच हजार बाख्रापालक किसानलाई तालिम दिइसकेको छ ।

सहारा नेपालले बाख्रापालनका साथै कुखुरापालनमा संलग्न व्यवसायीलाई समेत तालिम दिँदै आएको छ । सदस्यले उत्पादन गरेको बस्तुको मूल्य श्रृङ्खलालाई ध्यान दिँदै गोठदेखि ओठसम्म पुर्याउँदासमेत विभिन्न कुरामा ध्यान दिनुपर्ने कुरा तालिममा सीप प्रदान गरिएको जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *