Sajhamanch Archive

इटहरीका एक दर्जन मेनपावरमा छापा, बन्द गराइयो दुई मेनपावर

Published: (Updated: ) in राष्ट्रिय समाचार, समाज by .

सुनसरी । वैदेशिक रोजगार विभागले इटहरीमा सञ्चालित एक दर्जन मेनपावर कम्पनीमा शुक्रबार छापा मारेको छ । यसक्रममा दुईवटा मेनपावर कम्पनी बन्द गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

अवैध रुपमा शाखा सञ्चालन गरी सर्वसाधारणलाई ठगी गरेको अभियोगमा विभागले मेनपावर कम्पनीहरूमा छापा मारेको हो । विभागका अनुसार इटहरीको एचआर मेनपावर कम्पनी र मेमोरियल मेनपावर कम्पनीमा शिलबन्दी तथा शाखा बन्द गरिएको छ ।

विभागका महानिर्देशक कुमार दाहालका अनुसार एचआर मेनपावर कम्पनीको शाखा बन्द गरिएको छ भने मेमेरियल कम्पनीमा शिलबन्दी गरिएको छ । ती दुबै मेनपावर कम्पनीबाट विभागले हालसम्म प्रयोग गरिएका काजगात, कामदारहरूको सूचीलगायतका महत्वपूर्ण  कागजात जफत गरिएको छ ।

अवैध रुपमा शाखा सञ्चालन गरी ठगी गरेको सूचनाका आधारमा विभागले इटहरीमा टोली पठाएको थियो । इटहरीमा थुप्रै मेनपावर कम्पनीका अवैध शाखा सञ्चालन भइरहेको पाइएपछि टोली पठाएको र टोलीले कारबाही थालेको महानिर्देशक दाहालले बताए ।

विभागका अनुसार शुक्रबार १२ वटा मेनपावर कम्पनीका शाखाहरूमा छापा मारी कागजात जफत गरिएको छ । विभागले छापा मारेपछि केही मेनपावर कम्पनीका शाखाहरू सटर लगाएर भागाभाग भएका छन् । तथापि, विभागले ती मेनपावर कम्पनीहरूमाथि निगरानी गरिरहेको छ ।

अवैध रुपमा काठमाडौंमा सञ्चालन भइरहेका मेनपावरमा निगरानी बढाएपछि ती मेनपावर कम्पनीले देशका विभिन्न ठाउँमा गएर लुकिछिपी गतिविधि गरिरहेको पाइएको दाहालले बताए । सुनसरीमा सञ्चालित मेनपावरहरूमा छापा मार्न जाँदा विभागले त्यहाँको स्थानीय प्रहरी र प्रशासनसँग समन्वय गरेको थियो ।

                                                                                                                 सेतोपाटीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *