Sajhamanch Archive

प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारभन्दा बढीलाई रोजगार

Published: in राष्ट्रिय समाचार, समाज by .

काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १५ हजारभन्दा बढी व्यक्ति रोजगारीमा लागेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको आइतबार चालु आर्थिक वर्ष ०७७/७८ को अर्धवार्षिक प्रगति विवरण र समग्र प्रतिवेदन सार्वजनिक गर्दै मन्त्री गौरीशंकर चौधरीले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत फागुन २ गतेसम्म ७ लाख ४३ हजार १६४ जना बेरोजगारको विवरण आएकोमध्ये १५ हजार ६ सय ७० जना कामका लागि पारिश्रमिकतर्फ रोजगारीमा खटिएको बताएका हुन् ।

उनले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत कार्यरत दुई लाखजना श्रमिकको सामूहिक दुर्घटना बिमा गरिएको पनि जानकारी दिए ।

मन्त्री चौधरीले सामाजिक सुरक्षा कोषमा ४ अर्ब १८ करोड संकलन भएको बताए । हालसम्म ९ देशसँग दुईपक्षीय श्रम समझदारीपत्रमा हस्ताक्षर भएको र पाँचवटा देशसँग श्रम सम्झौता गर्ने प्रक्रिया अगाडि बढाइएको पनि बताए ।

कोभिड १९ का कारण विदेशमा रोजगारी गुमाएर अलपत्र परेका १८७ कामदारलाई उद्धार गरिसकिएको र थप तीन महिलासहित ३९ जनाको उद्धारका लागि विभिन्न दूतावासहरुमा पत्राचार गरिएको उनले जानकारी दिए ।

मन्त्री चौधरीले विभिन्न ऐन, नियम, कार्यविधि, मापदण्ड तथा निर्देशिकाहरु संशोधन तथा जारी भएको पनि जानकारी दिए । वैदेशिक रोजगार बोर्डबाट वैदेशिक रोजगारीमा मृत्यु भएका ६८८ जना मृतकका परिवारलाई ४८ करोड ४९ लाख रुपैयाँ उपलब्ध गराइएको, अंगभंग भएका ६० कामदारलाई दुई करोड सात लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको, ४२५ कामदारको शव घर ठेगानामा पुर्‍याइएको र १७३ जनाको शव सम्बन्धित देशमै अन्त्येष्टि गरिएको उनको भनाइ छ ।

उनले सामाजिक सुरक्षा योजना संशोधन कार्यविधि २०७५ मा दोस्रो संशोधन भएकोसमेत जानकारी दिए ।

                                                                                                             बाह्रखरीबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *