Sajhamanch Archive

जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्छ : प्रधानमन्त्री ओली

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, शिक्षा, समाज by .

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना व्यक्त गरेका छन् ।

वसन्त पञ्चमी (श्रीपञ्चमी) तथा सरस्वती पूजाको अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले सामाजिक नैतिक मूल्य स्थापनाका लागि हरेक व्यक्तिमा प्रज्ञा प्रकाश प्राप्त हुन सकोस् भन्ने कामना गरेका हुन् ।

वैदिककालदेखि नै प्रज्ञा प्रकाशको प्रतीकका रुपमा सरस्वती पूजा मनाइँदै छ । प्रधानमन्त्री ओलीले जनताको जीवनमा खुशी भर्न समाजलाई असल नैतिक मूल्यमा उठाउनुपर्ने बताए । उनले यतिबेला हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने राष्ट्रिय आकाङ्क्षा पूरा गर्न अग्रसर रहेको जानकारी दिए ।

राष्ट्रको समृद्धि जनताको सुखसँग जोडिएको छ र सुख खुशीसँग जोडिएको छ, उनले भने, हामी नेपाललाई अविकासबाट विकासतिर, पछौटेपनबाट सम्पन्नतातिर र अव्यवस्थाबाट सदाचारतिर अघि बढाइरहेका छौँ । यसबाट समृद्ध नेपाल–सुखी नेपालीको आकाङ्क्षा पूरा हुनेछ ।

सरस्वती पूजाको दिनलाई स साना बालबालिकाको अक्षरारम्भ गर्ने दिवसका रुपमा पनि लिइन्छ । वेदाङ्ग ज्योतिषकालदेखि सनातन रुपमा मनाइँदै आएको यस पर्वको सम्बन्ध प्राकृतिक काल विभाजनसँग पनि रहेको छ । एक वर्षलाई छ वटा ऋतुमा विभाजन गरी माघशुक्ल पञ्चमीलाई वसन्त ऋतुको आरम्भका रुपमा लिइएको छ ।

वसन्त ऋतुलाई सृष्टिकारक तथा मनोविनोदको ऋतुका रुपमा पनि लिइन्छ । वसन्त सुरु भएपछि फूलहरूमा बहार आउँछ, पुष्पसुगन्ध फैलिन्छ, रुखहरुमा पालुवा पलाउन थाल्छ र मानिस, चराचुरुङ्गी र रङ्गीन पुतलीको मन फुरुङ्ग हुन्छ भन्ने विश्वास छ ।

सरस्वतीलाई विद्याकी देवीका रुपमा पूजा गर्ने हाम्रो प्राचीन ज्ञान शास्त्रीय प्रचलन छ । यसमा ज्ञानलाई प्रकाश मानिएको छ र प्रकाशको उपस्थितिले अन्धकार, भय र अज्ञानता हट्ने उल्लेख छ । वैदिक मान्यताअनुसार सरस्वतीका शब्दलाई ब्रह्‍म, अक्षरलाई अनन्त र यन्त्रलाई नादको स्रोत मानिन्छ ।

सभ्यताको विकासक्रमसँगै सरस्वतीलाई बौद्धमार्गीहरुले मञ्जुश्रीका नामले पूजा गर्ने गरेका छन् । असल वा खराबको पहिचान गर्ने प्रकाशमय वुद्धि, संयम र विवेकको प्रतीकका रुपमा सरस्वतीलाई लिइन्छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *