Sajhamanch Archive

अभियुक्तद्वारा भागरथीको घाँटी अँठ्याएर हत्या गरेको स्वीकार

Published: (Updated: ) in समाज by .

बैतडी । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या गरको आरोप लागेका किशोरलाई प्रहरीले आज सार्वजनिक गरेको छ। बुधबार पत्रकार सम्मेलनमार्फत जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरीले भागरथी भट्टका बलात्कार तथा हत्या आरोपी सार्वजनिक गरेको हो।

पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तमराज सुवेदीले अभियुक्त किशोरले भागरथीलाई योजनाबद्ध रुपमा मारेको बताएका छन्। प्रहरीकाअनुसार ती किशोर भागरथी पढ्ने सनातन धर्म माध्यमिक विद्यालयकै कक्षा ११ अध्ययनरत थिए।

डीआइजी सुवेदीकाअनुसार माघ २१ गते दिउँसो पौने २ बजेतिर ती किशोर अन्तिम कक्षा नपढी साथीहरूसँग फर्किएका थिए। त्यसपछि शाथीहरुलाई स्थानीय बजारमा छोडेर उनी एक्लै घरतर्फ गएर भागरथीलाई बाटोमा पर्खेर बसेका थिए।

‘मृतक भागरथी पढ्ने गरेको विद्यालयमा पढ्ने ११ कक्षाका अभियुक्तले अन्तिम कक्षा नपढी अर्थात् पौने २ बजे विद्यालयबाट आफ्नो घर जानको लागि अन्य शाथीहरुसँग बजारतर्फ गएको भन्ने खुलेको छ,’ उनले भने,‘निजले शाथीहरुलाई बजारमै छोडेर आफू एक्लै चडेपानीतर्फ हिँडेका थिए।’

त्यसपछि भागरथीसँग शिला गाउँमा भेट भएको तर ती किशोर अगाडि गएको प्रहरीले जनाएको छ। ‘अभियुक्त र भागरथिको शिला गाउँमा भेट भयो तर अभियुक्त भागरथीभन्दा अगाडि गएर मृतकलाई मार्ने उद्देश्यले घटनास्थलमाथि रहेको रोडमा कुरी बसेको भन्ने खुलेको छ,’ डीआइजी सुवेदीले भने।

कुरेर बसेको स्थानमा भागिरथी पुगेपछि ती किशोरले उनलाई सडकबाट तल धकेलेपछि जबरजस्ती घटनास्थल लगेको प्रहरीले जनाएको छ। ‘जबरजस्ती घटनास्थल लगी दुबै हातले घाँटी अँठ्याएर हत्या गरेको भन्ने खुलेको छ,’ डीआइजी सुवेदीले भने।

त्यसपछि ती किशोरले बलत्कारको प्रयास गरेको तर बयानमा बलात्कार नगरेको बताएको प्रहरीको भनाई छ। ‘पाइन्ट घुँडासम्म निकाली करणी गर्न खोजेको तर त्यत्तिकै छोडेको भन्ने प्रारम्भिक बयान अभियुक्तले दिएको छ,’ डीआइजी सुवेदीले भने,‘तर, त्यसमा अनुसन्धान जारी छ। त्यसपछि अभियुक्तले भागरथीसँग रहेको मोबाइलको ब्याट्री झिकेर घटनास्थलमा फालेर घरतर्फ गएको।’

प्रहरीले कर्तव्य ज्यान र बलात्कार सम्बन्धि कसुरको आधारमा घटनाको अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ। ‘हामीले घटनाको अनुसन्धान सुरु गरेका छौं,’ डीआइजी सुवेदीले भने,‘यसमा कर्तव्य ज्यान र बलात्कार सम्बन्धि कसुरको आधारमा मुद्दाको अनुसन्धान अगाडि बढेको छ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *