Sajhamanch Archive

स्थानीयको सक्रियतामा कमलमा स्व. कूलमायाको परिवारलाई घर बनाइँँदै

Published: (Updated: ) in विविधा, समाज by .

दमक । दुई बर्ष अघि आगोले जलेर मृत्यु भएकी आर्थिक रुपमा विपन्न झापा कमल गाउँपालिका वडा नं ६ की कूलमाया बस्नेतको परिवारलाई स्थानीयको सक्रियतामा घर निर्माण शुरु गरिएको छ ।

दुई बर्ष अघि कूलमायालाई बचाउन गरिएको प्रयत्नका क्रममा गठन भएको कूलमाया बचाउ अभियान समितिलाई नै हाल घर निर्माण समितिमा रुपान्तरण गर्दै स्थानीयहरुले स्वर्गीय कूलमायाको परिवारलाई घर बनाइदिने जमर्को गरेका हुन ।

सोका लागि हुकुमसिंह राईको नेतृत्वमा ९ सदस्यीय समिति पुनर्गठन गरिएको समितिका सदस्य तथा घर निर्माणको अभियानमा जुटेका स्थानीय हर्क रायले जानकारी दिए ।

स्वर्गीय कुलमायाको बाबु बाजे बर्षौंदेखि स्थानीय नेपाल परिवारको घर जग्गा रेखदेखका लागि बसेका र घरबिहिन अवस्थामा कूलमाया र उनकी आमाले समेत मृत्युवरण गर्नुपरेकोले उनको परिवारका लागि सो ठाउँको आँपडाडामा आवासको व्यवस्था मिलाउने प्रयत्न स्वरुप घर निर्माण थालिएको समितिले जनाएको छ ।

समितिका संयोजक राईका अनुसार नेपाल परिवारबाट बस्नेत परिवारलाई १० धुर जग्गा उपलब्ध गराइएको छ । सोही जग्गामा समितिको सक्रियतामा सहयोग जुटाएर स्वर्गीय कूलमायाका बुबा देवी बहादुर, छोरा विदुरसहितको परिवारको बसोबासका लागि चार कोठाको घर बनाउन शुरु गरिएको संयोजक राईले बताए ।

समितिले सबैको सहयोगमा घर निर्माण सम्पन्न गरेर बस्नेत परिवारलाई हस्तान्तरण गर्ने योजना रहेको जनाएको छ । कूलमायाको बचाउका लागि दाताहरुबाट दुई बर्ष अघिनै जुटाइएको करिब साढे ३ लाख रुपैयाँ भने बैंक खातामा जम्मा गरिएको छ । सो रकमको ब्याज वापतको रकम निकालेर यस अघि देवी बहादुरका छोरा विदुरको उपचारका लागि दिइएको र घर निर्माण अन्य दाताहरुबाटै पूरा गरी बस्नेत परिवारको जिविकोपार्जनका लागि रकम सो रकम समेत हस्तान्तरण गरिने सदस्य रायले बताए ।

समितिले आर्थिक रुपमा विपन्न बस्नेत परिवारको घर निर्माणमा सहयोग गरेर सहज जिवनयापनको वातावरण बनाउन सहयोगका लागि सबै संग आव्हान समेत गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *