Sajhamanch Archive

प्रधानमन्त्री ओलीद्वारा नागढुङ्गा–नाैबिसे सुरुङ मार्गकाे निरीक्षण

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन नागढुङ्गा–नौबिसे सुरुङ मार्गको निरीक्षण गरेका छन् । आइतबार नागढुङ्गाको दहचोक टुटेपाखाको सुरुङमार्ग निर्माणाधीन स्थलमा पुगेर प्रधानमन्त्री ओलीले निरीक्षण गरेका हुन् ।

प्रधानमन्त्री ओलीलाई आयोजनाका कन्सल्टेन्सी कोअर्डिनेटर रमेशप्रसाद कोइरालाले निर्माण कार्यको अवस्थाबारे जानकारी गराएका थिए । उनले अबको १३ महिनाभित्रमा सुरुङ खन्ने कार्यको ‘ब्रेक थ्रु’हुने गरी काम भइराखेको समेत बताए ।

सुरुङ मार्ग निर्माण कार्यको निरीक्षण गर्न प्रधानमन्त्री ओलीसँगै भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङ पनि पुगेका थिए । कार्यक्रममा मन्त्री नेम्वाङले ४२ महिनामा निर्माण सम्पन्न गर्ने समय अवधि तोकिएको भए पनि अहिले सम्म १५ महिना गइसकेको र अझै २७ महिना बाँकी रहेकोले अहिलेकै गतिअनुसार निर्माण कार्य भइराखे समयमै निर्माण सम्पन्न हुने बताए ।

नागढुङ्गा सुरुङ मार्ग आयोजनाको निर्माण कार्य जापानी कम्पनी हाजमा–आन्द्रो जेभीले गरिरहेको छ । सुरुङ मार्ग निर्माणका लागि विकास सहायता कार्यान्वयन महाशाखा र हाज्मा आन्द्रो जेभीबीच २०७६ असोज ६ गते सम्झौता भएको थियो । यद्यपि सुरुङ खन्ने काम भने गएको पुसदेखि सुरु भएको थियो ।

                                                                                                                 उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *