Sajhamanch Archive

पेट्रोल खन्याउने क्रममा पम्पमा आगलागी

Published: in समाज by .

विराटनगर । सङ्खुवासभाको चैनपुर नगरपालिका वडा नं.७ जिरोप्वाइन्टमा रहेको पेट्रोल पम्पमा आगलागी भएको छ ।

मङ्गलवार दिउँसो १२ बजेतिर ट्याङ्करबाट पेट्रोल खन्याउँदै गर्दा आगलागी भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोष बुढाथोकीले जानकारी दिए ।

पम्पमा आगलागी हुँदा आयल निगममा कार्यरत कर्मचारी चैनपुरका ३७ वर्षीय सविन कर्माचार्य सामान्य घाइते भएका छन् । आगलागीका कारण पम्प नजिकै रहेको एक औषधि पसल र होटलमा पनि क्षति भएको छ ।

आगलागीका क्रममा सामान निकाल्ने क्रममा रेडियो अरुणको उपकरणमा क्षति पुगेको छ । रेडियोको ट्रान्समिटर, कम्प्युटरलगायतका उपकरणमा क्षति पुग्दा प्रसारण बन्द भएको रेडियोको स्टेशन म्यानेजर दुर्गाबहादुर कटुवालले जानकारी दिए ।

मङ्गलबार त्यस टयाङ्करले डिजल २० हजार लिटर र पेट्रोल नौ हजार लिटर बोकेर आएको थियो । त्यही इन्धन खन्याउँदै गर्दा आगलागी भएको हो । आगलागीबाट पेट्रोल पम्पमा डेढ करोड रुपैयाँमाथिको क्षति भएको पेट्रोल पम्प सञ्चालक सदस्य तथा चैनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष आशिष शाक्यले बताए ।

                                                                                                                       उज्यालोबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *