Sajhamanch Archive

सरकारले सच्यायो कोरोनाबाट मृत्यु हुनेको तथ्यांक

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य by .

काठमाडौं । सरकारले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको छ । बुधवार एकैदिन ६ सय १९ जनाको ज्यान गुमाएको तथ्याङ्क सार्वजनिक गर्दै अहिलेसम्म ज्यान गुमाउनेको तथ्याङ्क सच्याएको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दैनिक सार्वजनिक गर्दै आएको विवरणमा कोरोना महामारीको व्यवस्थापन गरिरहेका अरू निकायहरूको तथ्याङ्कको आधारमा अद्यावधिक गर्दा ज्यान गुमाउनेको सङ्ख्या बढेको जनाएको छ ।

यसअघि नै शवको व्यवस्थापन गरिरहेको नेपाली सेनासँग भएको सङ्ख्याभन्दा सरकारले देखाएको मृतकको सङ्ख्या कम भएको विवरण सार्वजनिक भएको थियो । धेरै आलोचना भएपछि तथ्याङ्क फरक परेको बारेमा अध्ययन थालेको मन्त्रालयले बुधवार एकैदिन ६ सय १९ जना मृतकको विवरण थपेको हो ।

बुधवार थपिएको विवरणमा एक जनाले गएको २४ घण्टामा ज्यान गुमाएका र ६ सय १८ जनाले यसअघि नै ज्यान गुमाएर विवरण प्राप्त नभएकाहरू रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यससँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ६ सय ८४ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *