Sajhamanch Archive

प्रधानमन्त्री ओलीले फागुन १८ गते पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्ने

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, स्वास्थ्य by .

बिर्तामोड । गएको वर्ष जनवरी १ देखि सञ्चालनमा आएको बिर्तामोडको पूर्वाञ्चल क्यान्सर हस्पिटलको फागुन १८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने भएका छन् ।

अस्पताल प्रशासनले आज पत्रकार सम्मेलन गरेर सो सम्बन्धी जानकारी गराएको हो। पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी प्रमुख दुर्गा प्रसाईले दिएको जानकारी अनुसार उद्घाटन समारोहमा प्रसिद्ध नायिका मनिषा कोइराला, प्रसिद्ध अभिनेताद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य लगायतको उपस्थिति रहने छ ।

भारतकी प्रसिद्ध नायिका सोनाली बान्द्रालाई समेत निम्तो पठाइएको प्रसाईंको भनाई छ । अस्पताल उद्घाटन समारोहमा तत्कालीन संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ, मन्त्रीहरु रामबहादुर थापा बादल, कृष्णगोपाल श्रेष्ठ, भानुभक्त ढकाल र पूर्वमन्त्री महेश बस्नेतको उपस्थिति रहने बताइएको छ ।

हस्पिटलका जनसम्पर्क अधिकृत प्रमिस गिरीका अनुसार प्रधानमन्त्री ओली क्यान्सर हस्पिटलको उद्घाटनका लागि सो दिन साढे ७ घण्टा झापामा रहनेछन् । ओलीले अधिकांश समय क्यान्सर हस्पिटल र बीएन्डसीलाई दिनेछन् ।

मंगलवार उद्घाटनका दिन विहान १० बजेको यति एयरलायन्स मार्फत ओली काठमाडौंबाट भद्रपुर विमानस्थल आउने कार्यक्रम तय भएको छ । सोपछि उनी सोझै अपरान्ह साढे ५ बजे काठमाडौं फर्कने बताइएको छ ।

उद्घाटनमा काठमाडौंका मूलधारका मिडियाका प्रधान सम्पादक र स्वास्थ्य विधा हेर्ने पत्रकारहरुको ठूलो संख्यालाई निम्त्याइएको गिरीले जानकारी दिएका छन् ।

बीएन्डसी हस्पिटलका निर्देशक प्राडा उमेश शर्माले पूर्वाञ्चल क्यान्सर हस्पिटल मुलुककै अब्बल हस्पिटल भएको बताए । उनले क्यान्सरको पूर्ण उपचार हुने भएकाले अब नेपालीहरुले विदेश धाउनु नपर्ने बताए ।

अत्याधुनिक उपकरण र दक्ष जनशक्तिसहितको विश्वस्तरीय उपचार गर्दै आएको पूर्वाञ्चल क्यान्सर हस्पिटल बिर्तामोडमा बीएन्डसी हस्पिटलसँगै जोडिएको छ । ३०० बेडको स्वीकृति पाएको सो हस्पिटल हाल १०० बेड सञ्चालन भइरहेको छ ।

कार्यकारी निर्देशक प्रसाईले पत्रकारहरुको प्रश्नको उत्तर दिने क्रममा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पेट स्क्यान गर्न अर्कोपटक दिल्ली धाउनु नपर्ने दावी पनि गरेका छन् । दिल्लीमा हुने सबै स्वास्थ्य परीक्षण र उपचार सुविधा पूर्वाञ्चल क्यान्सर र बीएन्डसी हस्पिटलमा हुने उनको भनाई थियो ।

अस्पताल उद्घाटन समारोहमा क्यान्सर रोगलाई जितेर सामान्य जीवनमा आएर सामाजिक अभियानमा लागेकी प्रसिद्ध नायिका मनिषा कोइरालाको विशेष अनुभव मन्तब्यसमेत रहने बताइएको छ ।

झापामा हाल सम्म भएका नीजि क्षेत्रको औपचारिक कार्यक्रमा प्रधानमन्त्रीले धेरै समय दिने र उच्च पदका व्यक्तिहरुको बाक्लो उपस्थित रहने पहिलो कार्यक्रम हुने अस्पताल प्रसाशनले ठहर गरेको छ । कार्यक्रममा ५० हजारभन्दा धेरै जनालाई आमन्त्रण गरिएको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *