Sajhamanch Archive

एनएमसीमा प्रशिक्षक प्रशिक्षण तालिम

Published: in शिक्षा, समाज, सहकारी by .

बिर्तामोड । नेपाल बहुउद्देश्यीय सहकारी संस्था एनएमसी झापाले सदस्य शिक्षा तालिम सञ्चालन गर्ने सहजकर्ताका लागि प्रशिक्षक प्रशिक्षण तालिम प्रदान गरेको छ ।

संस्था अन्तरगत शिक्षा तथा तालिम उपसमितिको आयोजनामा फागुन १५ गते बिर्तामोडमा तालिम सम्पन्न गरिएको हो । तालिमको सहजीकरण तात्कालिन संविधान सभाका सदस्य प्रेमबहादुर गिरीले गरेका थिए ।

सहजीकरणका क्रममा गिरीले तालिमका सहजकर्ताले सहभागीको अपेक्षा संकलन गर्ने, सहभागीलाई सिकेको कुरा नविर्सिने बनाउन कुन विधि प्रयोग गर्ने भन्ने तय गर्ने जस्ता विधिहरु बिर्सन नहुने औंल्याए ।

तालिमका सहजकर्ताको पहिरन र उसका क्रियाकलापले सहभागीको ध्यान कसरी मोडिन सक्छ भन्ने कुरालाई गिरीले अभ्याससहित सिकाएका थिए । तालिममा सहभागीहरुबाटै तथ्य संकलन गरेर विषयवस्तु बारे नयाँ रोचक कुराहरु थाहा पाउन सकिने विधिलाई प्रशिक्षकहरुले अवलम्बन गर्न सक्नुपर्ने सहजकर्ता गिरीको सुझाव थियो ।

शिक्षा तथा तालिम उपसमितिका संयोजक सावित्रा दाहालको अध्यक्षतामा आयोजित प्रशिक्षक प्रशिक्षण तालिम कार्यक्रमको सञ्चालन उपसमितिका सदस्य केसी श्रेष्ठले गरेका थिए ।

तालिम कार्यक्रममा एनएमसी सञ्चालक समितिका अध्यक्ष रामचन्द्र उप्रेतीले तालिमको आवश्यकता र औचित्य माथि प्रकाश पारेका थिए । अध्यक्ष उप्रेतीले सदस्य शिक्षा कार्यक्रममा जाँदा प्रशिक्षकहरुले सुनेको एनएमसीलाई देखेको एनएमसी जस्तै बनाउन सक्नु पर्ने सुझाव दिए ।

वित्तीय कारोबारमा एनएमसी अब्बल छ भन्ने अवगत गराउँदै समाज रुपान्तरणको एनएमसीको भूमिकाका बारेमा पनि उदाहरण दिएर सदस्यहरुलाई प्रष्ट पार्नुपर्ने उनको भनाई थियो ।

संस्थाको विभिन्न जिम्मेवारीमा रहेका ४५ जनालाई दिइएको सो प्रशिक्षक प्रशिक्षण तालिममा संस्थाको मूल नारा ‘असल संस्कार र समृद्धिको लागि एनएमसी’ र एनएमसीको परिचय कसरी गराउने भन्ने सन्दर्भमा प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले सहजीकरण गरेका थिए ।

शिक्षा तथा तालिम उपसमितिका सदस्य चन्द्रप्रसाद भट्टराईले शब्दद्वारा स्वागत गरेको सो तालिम कार्यक्रममा सहभागीहरुबीच परिचय गर्ने विधि एवम् निरन्तर एकोहोरो शिक्षण प्रशिक्षणमा रहँदा बोरिङ हुन नदिन के कस्ता उपायहरु अवलम्बन गर्न सकिन्छ भन्ने अभ्यास पनि गराइएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *