Sajhamanch Archive

प्रधानमन्त्री ओलीद्वारा प्रदेश गौरव भिलेजको चावी हस्तान्तरण

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले बिर्तामोड ७ मा नवनिर्मित प्रदेश गौरव भिलेजका बसोबासीलाई आज घरको चावी हस्तान्तरण गरेका छन् ।

सन्थाल समुदायका लागि बसोबास गर्न विभिन्न दाताहरुले प्रदान गरेको जमिनमा ३७ वटा घर बनाएर आज हस्तान्तरण गरिएको हो । सो टोल विकास समितिका पदाधिकारीहरुलाई एकमुष्ठ चावी प्रदान गरिएको हो । सिमान्तकृत समुदायका बसोबासीलाई चावी हस्तान्तरण गरेपछि प्रधानमन्त्री ओलीले गौरव भिलेजमा शीघ्र विद्युतीकरणको आवश्यकता औंल्याएका छन् ।

मन्तब्यका क्रममा प्रधानमन्त्रीले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीलाई विधि पुर्याएर व्यवस्थापन गर्दै लगिएको बताए । विकासका अनेकन पक्षहरुमध्ये बाटो, कल्भर्ट, सडक, पूल पुलेसाहरु बनाएर नेपाली जनतालाई सबल बनाउँदै लगेको पनि प्रधानमन्त्री ओली ले सुनाए ।

प्रधानमन्त्री ओलीले जग्गादाताहरुलाई सम्मानपत्र प्रदान गरेका छन् । सबै जग्गादाताहरुको तर्फबाट बिर्तामोडका पर्वत कार्कीलाई प्रधानमन्त्रीले सम्मान पत्र प्रदान गरेका छन् । यसैगरी आवास निर्माणको साझेदार सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, आवास निर्माण उपभोक्ता समितिका अध्यक्ष युवराज गौतम, सचिव अविरलकृष्ण खरेललाई पनि सम्मान पत्र प्रदान गरिएको छ ।

सो कार्यक्रममा प्रदेश १ का प्रमुख सोमनाथ प्यासी, प्रदेश ३ का प्रमुख विष्णु प्रसाई, प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, मन्त्रीहरु एवम् सांसदहरुको उल्लेख्रय उपस्थिति रहेको थियो ।

भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठ, बिर्तामोडका पर्वत कार्कीसहितले निःशुल्क प्रदान गरेको एक विगाहा ३ कठ्ठा जग्गामा प्रदेश १ को सरकार, बिर्तामोड नगरपालिका, ह्याविटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाख रुपैयाँको लागतमा आवास निर्माण गरिएको छ ।

कार्यक्रमको अध्यक्षता गरिरहेका बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले सो वस्तीमा अति विपन्न कुर्मी र सन्थाल समुदायका परिवारलाई बसोबास गराइएको जानकारी दिए ।

उनले हालसम्म नगरपालिकाभित्र ३०६ वटा घर निर्माण गरेर विपन्न समुदायलाई हस्तान्तरण गरिसकिएको पनि बताए । चालु आर्थिक वर्षमा ५०० घर निर्माण गरेर हस्तान्तरण गर्ने योजना अनुरुप २०६ वटा निर्माणधीन अवस्थामा रहेको उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *