Sajhamanch Archive

ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा

Published: (Updated: ) in प्रदेश तह by .

मोरङ । ऐतिहासिक राधाकृष्ण रथ यात्राको तयारी पूरा भएको छ । राधाकृष्ण रथयात्रा मूल समारोह समितिका संयोजक बाबुराजा ओझाले सोमबार पत्रकार सम्मेलन गरी तयारी पूरा भएको बताए ।

विराटनगरस्थित राधाकृष्ण मन्दिरबाट कृष्णजन्माष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा २०७५ का लागि तयार गरिएको रथ ।

विराटनगरमा निस्कने ५१ औं रथयात्राको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओझाले बताए ।

रथयात्रा सोमबार ४ बजे राधाकृष्ण मन्दिरबाट सुरु भई मेनरोड हुँदै महेन्द्र चोक, धरान रोड, बरगाछीबाट पुनस् मन्दिर परिसरसम्म ७ किलोमिटर दूरी तय गरिएको छ । भक्तजनहरूका लागि रथयात्राको दर्शन र पूजा गर्न ४३ ठाउँमा विश्राम दिने व्यवस्था गरिएको छ ।

५१ औं रथयात्राको नेपाल र भारतका गरी ५ लाख बढी भक्तजनले प्रत्यक्ष अवलोकन, दर्शन र पूजापाठ गर्ने समितिको दाबी छ । प्रदेश सरकारले उक्त दिन मोरङ र सुनसरी जिल्लामा सार्वजनिक विदा दिने निर्णय यसअघि नै गरी सकेको छ ।

रथयात्राका लागि सुनौलो रंगको पैगोडा शैलीको २२ फिट लामो, १४ फिट चौडा र १८ फिट अग्लो रथ निर्माण गरिएको छ । रथको अग्र भागको दायाँ र बायाँ गरी दुबैपट्टि ७५ फिट लामो रथ तान्ने लठा निर्माण गरिएको अध्यक्ष ओझाले बताए । रथको दायाँ लठ्ठा पुरुष र बायाँ महिला भक्तजनले तान्ने परम्परा छ ।

५१ औं रथयात्राको मुख्य आकर्षण घोडाको प्रयोग गरी तानिने बग्गी भारतबाट ल्याइएको र रथयात्रा मार्गमा हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइने रहेको छ ।

रथको अगाडि ३ किलोमिटरसम्म विभिन्न जातजाति, धर्म संस्कृति झल्किने झाँकी, भजन मण्डलीहरू र प्रदेश १ प्रहरीको बैन्ड रहने आयोजकले जनायो । रथयात्रा मार्गमा १७ ठाउँमा विभिन्न लोक नृत्य प्रदर्शन गर्नेसमेत व्यवस्था गरिएको छ ।

रथयात्रा व्यवस्थित बनाउनका लागि १९ वटा उपसमिति गठन गरिएको छ । श्रीकृष्ण जन्माष्टमी र रथयात्राको अवसरमा आइतबारदेखि राधाकृष्ण मन्दिर परिसरमा इस्कोन विराटनगरले श्रीमद्भागवत सप्ताह पुराणको आयोजना गरेको बताए । भारतको वृन्दावनका आचार्य श्रीषकृष्ण दासले पूराण बाचन गरिरहेका हुन् ।

रथयात्रा महोत्सवको अवसरमा १ लाख १ हजार राशिको पोखरमल धर्मसंस्कृति पुरस्कार विराटनगर ३ स्थित परोपकार अभियान समूहलाई प्रदान गर्ने निर्णय भएको ओझाले सुनाए । उक्त पुरस्कार प्रत्येक वर्ष रथयात्राका अवसरमा १२ वर्षदेखि निरन्तर स्थानीय उद्योगी राठी परिवारले प्रदान गर्दै आएको छ ।

१९८८ सालमा राधारकृष्ण मन्दिरको स्थापना भएदेखि खट यात्राबाट सुरु भएर २०२५ सालदेखि रथयात्राको निर्माण गरी कृष्णजन्माष्टमीको भोलिपल्ट राधाकृष्णको प्रतिमा राखेर रथयात्रा निकाल्ने परम्परा छ ।

मन्दिर निर्माणका लागि सज्जन पौडेल, सोमराज मुखिया पौडेल र कृष्णप्रसाद पौडेलले प्रदान गरेको जग्गामा १९८८ सालमा पण्डित इन्द्रलाल भट्टले मन्दिर स्थापना गरी खट यात्रा सुरु गरेका थिए ।
कान्तिपुर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *