Sajhamanch Archive

पाँच दिनभित्र आगलागी पीडितलाई नगद सहयोग गर्ने दमक–ताप्लेजुङ सम्पर्क मञ्चको तयारी

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

दमक । दमक–ताप्लेजुङ सम्पर्क मञ्चको आजको बैठकले ताप्लेजुङको दोभानमा भएको आगलागीको घटनाप्रति दुःख व्यक्त गर्दै पीडितहरुलाई राहत तथा सहयोग उपलब्ध गराउने निर्णय गरेको छ ।

सम्पर्क मञ्चका अध्यक्ष भिमप्रसाद पौडेलको अध्यक्षतामा आज बिहान दमकमा बसेको बैठकले आगलागी पीडितहरुलाई बढीमा पाँच दिन भित्रमा अधिकतम नगद राहत सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

बैठकले सो कार्यका लागि केन्द्र प्रसाईको संयोजकत्वमा ९ सदस्यीय आर्थिक सहयोग संकलन समिति गठन गर्ने पनि निर्णय गरेको मञ्चका सचिव मोहन बगालेले जानकारी दिए । समितिका सदस्यहरुमा तारा अधिकारी, कुमार साम्सोहाङ, हिमालय दाहाल, गोपाल गुरागाइँ, विजय बराल, शान्ता राई, पवित्रा तामाङ र सुमित्रा प्रसाइँ रहेका छन ।

समितिले ताप्लेजुङ पुख्र्यौली घर भई हाल दमकमा बसोबास गर्दै आएका तथा अन्य सहयोगीहरुसँग सम्पर्क गरी अधिकतम नगद सहयोग जुटाएर पाँच दिन भित्र पीडितलाई उपलब्ध गराउने निर्णय भएको छ । सोका लागि प्रचार प्रसारको जिम्मेवारी विष्णु पौडेललाई दिने र अन्य सहयोग गर्न इच्छुक संघ–संस्थाहरुसँग समन्वयका लागि गोपाल गुरागाईंलाई जिम्मेवारी तोकिएको छ ।

बैठकले संस्थाको कोषाध्यक्षमा शान्ता राईलाई मनोनित गर्ने निर्णय गरेको छ । संस्थाले तत्कालका लागि मेची सहकारी संस्थामा सम्पर्क मञ्चको नाममा खाता खोलेर सोही मार्फत कारोबार गर्ने नर्णय भएको छ । अध्यक्ष पौडेलका अनुसार छिट्टै नगरमा बसोबास गर्ने ताप्लेजुङ पुख्र्यौली घर भएकाहरुको बृहत भेला गरेर संस्थाको कार्यसमिति विस्तार गर्नुका साथै सामाजिक गतिबिधिहरु सञ्चालन गरिनेछ ।

चार दिन अघि ताप्लेजुङको दोभानमा भएको आगलागीका कारण करिब ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले ३९ करोड ८७ लाख ७४ हजार २९ रुपैयाँ बराबरको क्षति भएको विवरण तयार गरेको हो ।

आगलागीले पूर्णरूपमा घरसहित त्यहाँ रहेका पसल, अलैँची गोदाम, अन्य संरचनासमेत जलेर नष्ट हुँदा ठूलो परिमाणमा क्षति भएको जनाइएको छ । मङ्गलबार भएको आगलागीबाट ४९ घर जलेर नष्ट भएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *