Sajhamanch Archive

पुस्तक समीक्षाः बोझे इन्स्पेक्टरमा के छ त्यस्तो खास

Published: in मुख्य समाचार, समाज, साहित्य, by .

त्रिभुवन विश्वविद्यालयका निवृत्त प्राध्यापक प्रेमप्रसाद भट्टराईको पहिलो कृति हो, बोझे इन्स्पेक्टर । शिक्षा क्षेत्रमा लामो समयदेखि सेवारत भट्टराईले जीवनका आरोह अवरोहलाई केलाउने क्रममा केही संस्मरणहरु लेखेर पुस्तक प्रकाशन गरेका हुन् । बोझे इन्स्पेक्टर पुस्तकमा १६ वटा संस्मरणहरु छन् । जसमध्ये ५ वटा राजनैतिक इतिहाससँग सम्बद्ध छन् । अरु ७ वटा शैक्षिक गतिविधिसँग सम्बन्धित छन् । २ वटा सामाजिक परिवेशका लेख छन् । एउटा लेख पिताजीका बारेमा र एउटा शैक्षिक यात्रा संस्मरणको रुपमा आएको छ ।

राजनीतिक लेखहरुमा मओवादी द्वन्द्वकालमा धर्मशीला चापागाई, शंकर घिमिरे, गौरीशंकर खड्काजस्ता योद्धा र अन्य माओवादी कार्यकर्तालाई घरमा आश्रय दिएकोले प्रेमसरको घर माओवादीको सेल्टर भएको थाहा पाएर सेनाले दुःख दिने गरेको प्रसंग केलाइएको छ । लेखकले धर्मशीला र गौरीशंकरबाट आफू धेरै प्रभावित भएको स्वीकार गर्नु भएको छ ।

अर्को संस्मरणमा भद्रपुरको जनज्योति कुइनेटोका सञ्चालक काँशीराज निरौला विराटनगरबाट रेडबुक ल्याउने क्रममा विहारमा रेलको जक्सनमै पक्राउ परी अररिया जेलमा पर्नु भएको सन्दर्भ छ । लेखक भट्टराई र विनोद पोखरेल निरौलालाई भेट गर्न विहारको जेलमा पुग्नु भएको घटनाको स्मरण गरिएको छ ।

राजनीतिक विषयको तेस्रो लेखमा झापा आन्दोलनकी सशक्त नेतृ लीला कट्टेल नडियाबाढीमा पक्राउ परी राधाकृष्ण मैनालीसँंगै जेल परेको, धेरै दुःख, पीडा, शोषणमा परेको, सामाजिक न्याय र मुतिmका निम्ति जीवन समर्पण गरेको, जेलमा शारीरिक मानसिक यातना भोगेकी कट्टेलले वामपन्थी आन्दोलनमा पुर्याएको योगदान तथा उनको त्याग तपस्याको मूल्याङ्कन गरिएको छ ।

यसरी नै अर्को राजनीतिक लेखमा विधार्थी नेता पुण्य शर्मा, भूमि सुधारका कर्मचारी सिपी र आरकेका नजिकका मान्छे, झापा आन्दोलनका योद्धा बेपत्ता भए । मारिए वा पलायन भए कुनै पत्तो छैन । वामपन्थी सरकारले उनको खोजी गर्नुपर्छ भन्ने लेखकको भनाई रहेको छ । माले कालमा सिपी र केपीलाई हतियारधारी प्रहरीले गाउँमा घेराहाली पसेको सूचना अलिकति अगाडि लेखकले दिन सकेकोले दूर्घटनाबाट बचेको घटनालाई यहाँ अघि सारिएको छ ।

शैक्षिक संस्मरणहरु अन्तरगत शिक्षक श्रीराम गिरी कम्युनिष्ट नास्तिक मान्छे रजनिसका पुस्तक पढेर त्यसको प्रभावमा परी जागिर, घर, परिवार छोडेर साधु बनेर हिडेको एउटा प्रसंग छ । अर्को इलाम मालापथका अंग्रेजी ट्युसन पढाउने राम प्रधान सरकी दिवङ्गत श्रीमतीको मायाको चिनो नाडी घडी मेला बजारमा डाइस खेलाउँदै लुटाहाहरुले लुटेको प्रसङ्ग छ । ट्युसन पढ्ने सल्लाह गर्न पुगेका लेखकका साथीका नाडीमा त्यस्तै घडी देखेपछि उनी रुन थालेको र त्यो घडी किन्न मागेका कारुणिक प्रसंगको संस्मरण आएको छ ।

पुहातुबारी मावि मा हेडसर बन्नु भएको, धुलाबारी क्याम्पसमा पढाउन प्रयत्न गर्दा त्यहाँ नभएको, त्यसपछि कनकाई क्याम्पसमा पढाएकोे, अझैपछि आफूसमेत शेयर हालेर मनकामना कलेजमा प्रिन्सिपल वनेको उल्लेख गर्दै उक्त कलेजको इतिहास उतार्ने काम भएको छ ।

कीर्तिपुर क्याम्पसको होस्टेलमा बसेर राजनीतिक शास्त्रमा स्नातकोत्तर पढ्दा होस्टलमा अखिल र नेविसंघको झड्प रणसंग्रामको शब्दचित्र उतार्दै त्यसबेलाको विद्यार्थी राजनीतिक संस्मरण लेखकले संगाल्नु भएको छ । त्रिविमा उपप्रध्यापकका रुपमा प्रवेश गरेको, मेची क्याम्पसमा पठनपाठन र शैक्षिक प्रशासनमा बसेर के कस्ता काम कारवाही गरियो, विद्यार्थी निर्वाचनमा कस्तो भूमिका निर्वाह गरियो भन्ने संस्मरणात्मक लेख पनि पुस्तकमा समेटिएको छ ।

पुहाँतु जनज्योति माविमा प्रधानाध्यापक हुँदाका तीतामिठा कुरा, विद्यालयको आर्थिक संकट, चन्दा सहयोग, विद्यालयको नामाकरणमा आएको विवाद र त्यसको समाधान जस्ता कुरालाई पनि संस्मरण कै रुपमा पुस्तकमा स्थान दिइएको छ ।

लेखक आफूले धुलेपाटीमा कखरा सिकेको, नाम्दुखोले गुरुले अक्षर चिनाएको, पिण्डेम्वरमा चण्डी कौमुदी पढेको, त्रिमोहन हाइस्कूलमा, ताप्लेजुङ हाइस्कूल, भद्रपुर शारदा बालिका विद्यालय, भद्रपुर पद्मोदय हाइस्कूल, मेची क्याम्पस, कीर्तिपुर क्याम्पस पढ्दै मेची क्याम्पस मै प्राध्यापक बनेको वर्णन गर्दै वर्तमान मनकामना प्रिन्सिपल रहेसम्मको शैक्षिक इतिहासलाई लेखकले यस पुस्तकमा स्मरण समावेश गर्नुभएको छ ।

बोझे इन्स्पेक्टर पुस्तकका लेखक भट्टराईले सामाजिक संस्मरणमा रक्सी खाएर सधैं मात्ने लोकबहादुर, योगेम्बर धर्ममा लागेर सबैका गुरु बनेर गुरु दक्षिणा ग्रहण गर्न थालेको प्रसंग संस्मरण गर्दै धर्मले मान्छेलाई ठिक बाटोमा ल्याउँछ भन्ने सन्देश प्रवाह गरिएको छ । यसैगरी योगराज निरौलाको विगत कथा स्मरण गर्ने क्रममा छोरी भयो भनेर अर्को विवाह गर्ने, सौता सौता बीच कलह मच्चाउने, बालक छोराछोरीको बिल्लिबाठ हुने जस्ता समाजको चित्र खिचिएको छ ।

यात्रा संस्मरण अन्तरगत चाहिँ हिसानको ११ दिने शैक्षिक भ्रमणमा भारतको गोवा, बैङ्लोर, चेन्नाइ, पञ्जाब घुम्दै पाकिस्तानको सीमा बागा बोर्डर पुगेर दुवै सेनाहरुको परेड प्रदर्शन हेर्दै राष्ट्रिय भाव जगाउने प्रयत्न गरिएको छ ।

लेखकले आफ्ना पिता लक्ष्मीप्रसाद भट्टराईको साहस, दृढता, कर्तव्यनिष्ठता, राष्ट्र सेवाको उल्लेख गर्दै मान्छे पढेर मात्रै ठूलो हुँदैन, वुद्धि, विवेक, परोपकार, निष्ठा सेवाले ठूलो हुन्छ भन्ने निष्कर्ष निकाल्नु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *