Sajhamanch Archive

३२ करोड लगानीमा आधुनिक तरकारी बजार

Published: in अर्थतन्त्र by .

काठमाडौं । भक्तपुरको सूर्यविनायकमा ३२ करोड लगानीमा नेपालकै सबैभन्दा ठूलो र आधुनिक कृषि बजार तरकारी बजार सञ्चालनमा आउन लागेको छ। सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषि बजार फागुन महिनाभित्रै सञ्चालनमा ल्याउने पवर्धकको योजना छ।

सूर्यविनायक नगरपािलकाको वडा नं ८, आदर्श सिपाडोल क्षेत्रमा तरकारी बजार सुरु गर्ने अन्तिम तयारी भइरहेको छ। २०७५ फागुनमा बजार निर्माण सुरु गरिएको थियो। निर्माण सुरु भएको दुई वर्षपछि बजार सञ्चालनमा ल्याउन लागिएको छ। अरनिको राजमार्ग अन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनी जग्गामा अहिले बजार बुकिङको अन्तिम काम भइरहेको छ।

कृषि बजार आधुनिक छ। बजारमा प्रवेश गर्न र बाहिर निस्कन छुट्टाछुट्टै प्रवेशद्वारको व्यवस्था गरिएको छ। एउटा प्रवेशद्वार अरनिको राजमार्गमा जोडिएको छ भने अर्को सिपाडोल जाने मुख्य सडकमा जोडिएको छ। कृषि बजारमा तरकारी ल्याउने गाडीको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको प्रवद्र्धकको भनाइ छ। कृषि बजारभित्र तरकारी पुर्‍याउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ।

सूर्यविनायक हरित कृषि थोक बजारका अध्यक्ष राकेश प्रसाईले ३२ करोड लगानीमा नेपालकै ठूलो र व्यवस्थित कृषि बजार सञ्चालनमा ल्याउन लागेको जानकारी गराए। ‘फागुनको अन्तिम हप्तादेखि बजार सञ्चालनमा ल्याउने योजना छ,’ उनले नागरिकसँग भने, ‘अहिले अनौपचारिक रूपमा सुरु गरी आगामी वैशाखमा कृषि मन्त्रीबाट उद्घाटन गराई औपचारिक रूपमा बजार सञ्चालन गर्ने योजनामा छौं।’

बजारको सम्पूर्ण निर्माण कार्य सम्पन्न हुन समय लाग्ने उनले बताए। अहिलेका लागि तरकारी बजार सञ्चालनमा ल्याउन लागेको उनको भनाइ थियो। यसलाई अहिलेसम्मकै सबैभन्दा व्यवस्थित बजारको रूपमा अगाडि बढाउने योजना रहेको उनले बताए।बजारभित्र साढे सात सय स्टल छन्। तीमध्ये ८० प्रतिशत बुक भइसकेको जनाइएको छ। बजार प्रत्येक दिन विहान दुई बजेदेखि बेलुकी आठ बजेसम्म खुला रहने जनाइएको छ।

बजारको मुख्य उद्देश्य होलसेल भए तापनि स्थानीयको लागि खुद्रा किनबेच पनि हुने जनाइएको छ। काठमाडौंको कालीमाटी बजार बस्तीभित्र भएको कारण त्यहाँ गाडी भित्र लान बेलुकीसम्म कुर्नुपर्ने भएकोले तरकारी खराब हुने सम्भावना धेरै भएको तर यहाँ त्यस्तो समस्या नआउने बताइएको छ।

उपत्यकाको पूर्वी नाकाबाट आउने सबै तरकारी यही ल्याएर काठमाडौं लगायतका ठाउँमा पुर्‍याउन सकिने जनाइएको छ। जग्गा १५ वर्षका लागि लिजमा लिइएको हो। कृषकको बाहुल्य रहेको जिल्लामा अहिलेसम्म व्यवस्थित कृषि बजार बन्न सकेको थिएन।

नागरिकदैनिक

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *