Sajhamanch Archive

मोती पत्रकारिता पुरस्कार क्षेत्रीलाई, गीताकुमारीलाई केटो

Published: (Updated: ) in मुख्य समाचार, समाज by .

झापा । नेपाल पत्रकार महासंघ झापा शाखाले स्थापना गरेको मोती पत्रकारिता पुरस्कार झापाका जेठा पत्रकार भद्रपुर निवासी गोविन्दचन्द छेत्रीलाई प्रदान गरिने भएको छ ।

त्यस्तै केटो पत्रकारिता पुरस्कार दमककी पत्रकार गीताकुमारी ढुंगानालाई प्रदान गरिने भएको छ ।

बिहीवार पुरस्कार छनोट समितिको बैठकले उक्त निर्णय गरेको हो । पुरस्कारको राशि क्रमशः ५१ हजार र १५ हजार रुपैयाँ रहेको छ । महासंघले हरेक तीन वर्षमा यो पुरस्कार प्रदान गर्दै आएको छ ।

महासंघ झापाका अध्यक्ष तथा पुरस्कार छनोट समितिका संयोजक तारामणि सापकोटाको अध्यक्षतामा छनोट समितिका सदस्यहरु महासंघका उपाध्यक्ष एकराज गिरी र भीमा शिवाकोटी, सचिव सन्तोष आचार्य र कार्य समिति सदस्य रञ्जित प्रसाईको उपस्थितिमा भएको बैठकले पुरस्कृत व्यक्तित्व छनोट गरेको हो ।

७७ वर्षको उमेरमा पनि छेत्री हाल दि हिमालयन टाइम्स अंग्रेजी पत्रिकामा झापाबाट रिपोर्टिङ गर्छन् भने भद्रपुरबाट प्रकाशित नयाँ सन्दर्भ साप्ताहिकको प्रकाशक सम्पादक रहेका छन् । ५२ वर्षदेखि पत्रकारितामा क्रियाशील उनी पूर्वाञ्चल दैनिकका संस्थापक सम्पादकसमेत हुन् ।

केटो पत्रकारिता पुरस्कारबाट पुरस्कृत हुन लागेकी ढुंगाना दमकबाट प्रशारित हिमशिखर टेलिभिजनमा आवद्ध छन् । उक्त पुरस्कार फागुन २९ गते शनिवार बिर्तामोडको रामचोकस्थित देवी पाटी प्यालेसमा आयोजना हुने समारोहका बीच वितरण गरिने बताइएको छ ।

उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यको प्रमुख आतिथ्य तथा पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँलेको विशेष आतिथ्यमा हुने बताइएको छ ।

पत्रकार महासंघ झापाले नेपालका पहिलो पत्रकारका रुपमा सम्मानित मोतिराम भट्टको स्मृतिमा मोति पत्रकारिता पुरस्कार र मेची अञ्चलकै पहिलो पत्रिका श्यामकृष्ण उपाध्याय सम्पादक तथा प्रकाशक रहेको ‘केटो’मासिकको नामबाट केटो पत्रकारिता पुरस्कार स्थापना गरेको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *