Sajhamanch Archive

मलाई माधवजीको उद्दार गर्ने टेन्सन छ : प्रचण्ड

Published: (Updated: ) in राजनीति by .

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बरिष्ठ नेता माधव नेपालको उद्दार गर्ने एकमात्रै टेन्सन आफूलाई रहेको बताएका छन् ।

बुटवलमा शुक्रबार आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूलाई अहिले अरु राजनीतिक टेन्सन नरहेको बताए । ‘माधवजीहरु फर्किएपछि केपीले जे मन लाग्यो त्यो गर्न सक्ने छैनन्’, प्रचण्डले भने, ‘त्यहाँ ठूलै झमेला हुने वाला छ, मलाई चाहिँ माधवजीलाई कसरी रेस्क्यु गर्ने भन्ने टेन्सन छ ।’

आफूहरुको पार्टी अहिले धेरै सजिलो भएको भन्दै प्रचण्डले संगठन बनाउने बाहेक अरु तनाव नभएको बताए। उनले भने, ‘हाम्रो जस्तो सजिलो पार्टी अहिले कुनै छैन। हामी भित्र विदेशी प्रभाव पनि छैन । एउटा दुईटा होला तिनीहरु पनि टाउको उठाउने ठाउँमा छैनन् । अरु सबैभित्र विदेशी छन् । त्यसो भएर टेन्सन अरुलाई छ हामीलाई छैन ।’

उनले​ पूर्वएमालेसँग सम्बन्धित नेता-कार्यकर्ताबारे हेडक्वार्टरसँग समन्वय गरेर मात्रै निर्णय गर्न आग्रह गरे । ‘जिल्लाका हाम्रा कुनै पनि गतिविधिहरूले केन्द्रमा माधवजीहरूलाई पिन्च नहोस्,’ उनले भने । एमाले अब एक रहने स्थिति नरहेको उनको दाबी छ ।

‘माधवजीसँग नजिक भएका मानिसलाई तानेर हामीभित्र घुसाइहाल्छु भन्ने तिर नलाग्नुहोला’ प्रचण्डले भने, ‘अहिले त्यसो गर्न आवश्यक छैन। माधवजी, झलनाथजीहरूसँग हाम्रो सहकार्य गरिराख्ने, उहाँहरूले त्यहाँभित्र गएर संघर्ष गर्ने र फेरि एकताको प्रस्ताव राख्ने र एकतातिर नै जानुपर्छ भन्ने छ ।’

उनले अहिले केपी ओली नेतृत्वको सरकारमा रहेका पार्टीका मन्त्रीहरुलाई फकाउन नजाने बताए । बिग्रेका, भाँचिएका, कुच्चिएकालाई फकाउँछु भन्दा आफ्नो हालत खराब भएको भन्दै प्रचण्डले अब त्यस्तो त्रुटी नदोहोर्याउने बताए ।                            थाहाखबरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *