भारतमा गिरावट पतञ्जलीको व्यापार, झापामा माग बढ्यो
Published:
by .झापा । भारतमा बाबा रामदेवको पतञ्जली आयुर्वेदका उत्पादनहरुको बिक्री खस्किए पनि नेपालमा त्यस्तो अवस्था नरहेको पाइएको छ ।
नेपालमा रामदेवको पतञ्जली आयुर्वेदका सामान सहज तरिकाले ग्राहकलाई दिन नसकिएको कारण त्यस्तो देखिएको हो । तर, खस्किएको वा गिरावट आएको भने चाँहि छैन । झापा बिर्तामोड स्थित पतञ्जली आस्था आयुर्वेद औषाधालय (सेवा केन्द्र) की सञ्चालक भवानी क्षेत्रीका अनुसार भारतबाट ती सामान ल्याउन समस्या छ ।
ग्राहकको माग अनुसार ति सामान बिक्री गर्न सकिरहेको अवस्था नभएको क्षेत्रीले बताइन् । ‘नेपालमा त्यस्को सामान उत्पादन कम हुन्छ’, क्षेत्रीले भनिन् —‘झापामा माग धेरै छ । प्रत्यकको घरघरमा माग अनुसार पु¥याउन भने सकिरहेका छैनौँ ।’ उनले नेपालमा माग बमोजिम सामान दिन नसकेकोले यसलाई खस्किएको भन्न चाँहि नमिल्ने बताइन् ।
भारतमा बाबा रामदेवको पतञ्जली आयुर्वेदका उत्पादनहरुको बिक्री बिगत एक वर्षदेखि कमजोर हुँदै गएको छ । हालै गरेको एक अध्ययनपछि सार्वजनिक गरेको तथ्यांक अनुसार पतञ्जलीको बिक्रीमा अक्टोबरदेखि मार्च २०१८ सम्ममा ७ प्रतिशतको बृद्धि देखिएको छ । जबकि यो गत वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा २२ प्रतिशत थियो ।
त्यसभन्दा अघिल्लो वर्षसँग तुलना गर्दा बिगत दुई वर्ष यताको अवधिमा पतञ्जलीको बिक्रीमा ५२ प्रतिशतले गिरावट आइसकेको छ । एक साताअघि अध्ययनपछि सार्वजनिक गरेको प्रतिवेदनमा पतञ्जलीको सेल्स ग्रोथमा बिगत ४ वर्षयता बृद्धि नदेखिएको बताएको छ । यसबाट अघिल्लो वर्षसम्म कम्पनीले पूर्णतया कम्पाउन्ड एनुअल ग्रोथ रेट (एफएमसीजी) बाट मात्रै बृद्धि हासिल गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ । तर, पतञ्जलीको वास्तबिक बिक्री र बृद्धिबारे भने तथ्यांक दिएको छैन । भारत सिलिगुढी स्थित पतञ्जली आयुर्वेद सेवा केन्द्रका मुख्य सञ्चालक मालती चटर्जीले भनिन्— ‘एफएमसीजी सेक्टरमा पतञ्जलीले सबैभन्दा ठूलो बजार पाएको छ । अब मार्केटमा हाम्रो ब्राण्ड स्थापित भैसकेको छ । हाम्रो मार्केट शेयर पनि बढिरहेको छ । हामीले अन्य एफएमसिजी कम्पनीहरुकै बराबर ग्रोथ हासिल गरिरहेका छौँ ।’
उनका अनुसार पतञ्जलीले साह्रै छोटो अवधीमा उपभोक्ता फेसिङ आयुर्वेदिक बिजनेसलाई दिगो बनाएको हो । पतञ्जलीले स्थापित मल्टीनेशनल ब्राण्डहरुलाई पनि सबै क्याटेगोरीमा चुनौती दिएको दावी मालतीको भनाइछ । सन् १९९७ मा एउटा सानो फार्मेसीबाट शुरु भएको पतञ्जलीको हाल दुई दर्जनभन्दा धेरै मेनस्ट्रीम एफएमसीजी उत्पादनहरु छन् । यसमा टुथपेष्ट, स्याम्पु तथा अन्य पर्सनल केयरका उत्पादनहरुदेखि लिएर कर्नफ्लेक्स र चाउचाउ जस्ता आधुनिक खानेकुराहरु पनि छन् ।
कम्पनीले यो वर्ष १० हजार ५ सय करोड भारतीय रुपैयाँको बिक्री गरेको जनाएको छ । पतञ्जलीको सफलतामा सबैभन्दा धेरै उसको हर्बल, आयुर्वेदिक तथा प्राकृतिक उत्पादनहरु छन् । उपभोक्ताको कुल बिक्रीमा यो क्याटेगोरीको १० प्रतिशत स्थान छ । सन् २०१३ र २०१८ बीच यी सामाग्रीहरुको बार्षिक बृद्धि २१ प्रतिशत थियो भने एफएमसिजी सेक्टरको बार्षिक बृद्धि ११ प्रतिशत रहेको थियो ।
भारत पानीट्ङ्याकी स्थित पतञ्जली आयुर्वेद सेवा केन्द्रका सञ्चालक मनिश रायका अनुसार हामीले उपभोग गर्ने हरेक सामानका कम्पनिहरुको प्रतिस्पर्धा छ । जुन कम्पनिले सस्तो र स्तरिय सामानको उत्पादन गर्छ, ग्राहकले त त्यहि खोज्ने उनले बताए । ‘पतञ्जली आयुर्वेदका केहि सामान महंगो छ’, रायले भने —‘ विगतको जस्तो सेलिङ् अहिले त्यति छैन । तर, केहि सामान बिक्री नभएपनि अन्य पतञ्जलीका सामानको बिक्री राम्रो रहेको छ । ’ गर्मीमा अलिक कम बिक्री हुने र चिसोको सिजनमा अलिक बढि बिक्री हुने गरेको रायले जानकारी दिए ।
विज्ञहरुका अनुसार पतञ्जलीको ग्रोथका पछाडि बाबा रामदेवका प्रशंसकहरुकै हाथ थियो । उनीहरुले बाबा रामदेवको नामकै कारण यी उत्पादनलाई किनेका थिए । पतञ्जलीका सामाग्रीहरुको तुलनात्मक रुपमा मूल्यपनि कम हुनु र सबै किसिमका उत्पादनहरु एकैसाथ बजारमा ल्याउनाले पनि यसलाई बजार पाउन सहज भयो । तर, प्रतिवेदनका अनुसार बिगत एक वर्षमा पतञ्जलीका टुथपेष्ट र महको मात्रै मार्केट शेयर बढेको छ । पतञ्जलीको साबुन र खाने तेलको मार्केट शेयर स्थिर छ भने हेयर आयल, स्याम्पु तथा नौनीमा गिरावट आएको छ । पतञ्जलीका धेरैजसो प्रतिद्वन्दी कम्पनीहरुले नेचुरल तथा हर्बल प्रोडक्टहरु पनि धमाधम लञ्च गरेकाले पतञ्जलीको अवस्था कमजोर हुँदै गएको बताइएको छ ।
भारतमा बाबा रामदेवको पतञ्जली आयुर्वेदका उत्पादनहरुको बिक्री खस्किए पनि नेपालमा भने त्यस्तो अवस्था नरहेको पतञ्जली आयुर्वेदका व्यवसायीको भनाइछ । सुरुङ्गाका पतञ्जली आयुर्वेदका व्यवसायी रामप्रसाद निरौलाका अनुसार भारतमा जे भएपनि झापामा यसको माग बढ्दो छ । पतञ्जली आयुर्वेदका सामान धेरै बिक्री हुने गरेको व्यवसायी निरौलाले बताए । ‘पतञ्जली आयुर्वेदका सामानहरुको माग बजारमा अत्यधिक छ’, निरौलाले भने— ‘ अत्यधिक माग अनुसारको सामान बजारमा ग्राहकलाई दिन नसकिरहेको अवस्था चाँहि छ ।’
Comments