Sajhamanch Archive

काँकरभिट्टाको क्यासिनोबाट १२ लाख रुपैयाँ चोरी !

Published: in अर्थतन्त्र, राष्ट्रिय समाचार, by .

काँकरभिट्टा । काँकरभिट्टास्थित होटल रियाजमा रहेको मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट १२ लाख रुपैयाँ चोरी भएको छ ।

गएको आइतबार राति मिनी क्यासिनोको पैसा राख्ने गल्लाबाट ११ लाख ९४ हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।

क्यासिनोको गल्लाबाट रुपैयाँ चोरी भएको बारे ढिलो गरी प्रहरीले जानकारी पाएको बताइएको छ । इलाका प्रहरी कार्यालयका प्रमुख डीएसपी महेश थापाले गत आइतबार राति क्यासिनोबाट पैसा चोरी भएको रिपोर्ट भएसँगै चोरीमा संलग्नको खोजी कार्य भइरहेको बताए ।

क्यासिनोका टेक्निसियन र गार्डलगायतलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी थापाले जानकारी दिएका छन् । क्यासिनो बन्द भएपछि सिसी क्यामेरा अफ गरेर गल्लाको पैसा लगिएकाले त्यहीँ भित्रका कर्मचारीको बदमासी हुनसक्ने प्रहरीको अनुमान छ ।

क्यासिनो सञ्चालकका अनुसार राति १० बजे क्यासिनो बन्द भएपछि ग्राहकले दिइएको टिप्सको रकम उक्त गल्लामा राख्ने गरिएको छ । गल्लामा करिब २५ दिनको गरी करिब १२ लाख रुपैयाँ थियो । राति ११ बजेपछि त्यहाँको सिसी क्यामेरा बन्द गरेर गल्लाको सबै पैसा लगेछन् ।

सो क्यासिनोमा ११० जना कर्मचारी कार्यरत रहेको जनाइएको छ । नेपालीलाई क्यासिनोमा पस्न दिइँदैन । बाहिरबाट आएका ग्राहकले क्यासिनोमा मनोरञ्जन पछि बिलको नगद भुक्तानी गर्दा टिप्स दिने चलन छ । ग्राहकले दिएको उक्त टिप्स अलग्गै गल्लामा एक महिनाका लागि राख्ने गरिएको छ । एक महिनापछि उक्त गल्लामा भएको पैसा झिकेर गन्ती गरी सबै कर्मचारीलाई दामासाहीले बाँढ्ने गरिएको होटल सञ्चालकको भनाई छ ।

घटनाको प्रकति हेर्दा क्यासिनो भित्रै काम गर्ने कर्मचारीबाट यस्तो घटना भएको हुनसक्ने सञ्चालकको दावी छ । तर घटना भएको ४ दिन बितिसक्दा पनि प्रहरीको अनुसन्धान चुस्त बन्न नसकेकोमा पिडितहरुले गुनासो गरेका छन् । ‘बन्द कोठाभित्रको चोर पत्ता लगाउन नसक्ने प्रहरीले यहाँको शान्ति सुरक्षा मजवुत बनाउँछ’ सरोकारवालाको प्रश्न छ ।

क्यासिनो भित्र ठूलो रकम चोरी भएको घटना बारे बजारभरि हल्ला छ । हालैमात्र काँकरभिट्टा क्षेत्रको प्रहरी कमाण्ड सम्हाल्न आएका डीएसपी थापाले यहाँको शान्ति सुरक्षामा कुनै पनि कमजोरी हुन नदिने घोषणा गरेका थिए । ‘तर बन्द कोठाभित्रको त्यत्रो ठूलो चोरीको घटनामा संलग्नलाई पत्ता लगाउन नसक्नुले आफूहरु सशंकित भएका छौं’ स्थानीय श्याम दाहालले टिप्पणी गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *