Sajhamanch Archive

बिर्तामोडका तामाङहरु संस्कार र संस्कृति जोगाउँदै

Published: in शिक्षा, समाज by .

बिर्तामोड । लोप हुन लागेको आफ्नो मौलिक संस्कार र संस्कृति जोगाउन बिर्तामोडका तामाङहरु लागिपरेका छन् । अरुको सिकोगर्दा आफ्नो मौलिक जातीय संस्कार र संस्कृति बिर्सिदै गएपछि उनीहरु त्यसको जगेर्नामा लागेका हुन् ।

आफ्ना संस्कार र संस्कृतिलाई बचाउन बिर्तामोडमा तीन दिने प्रशिक्षण आयोजना गरिएको थियो । प्रशिक्षणमा बिर्तामोडभरका ५१ जना सहभागी रहेका थिए ।

नेपाल तामाङ घेदुङ बिर्तामोड ४ नं वडा समितिको आयोजना तथा बिर्तामोड नगरपालिका ४ नं वडा कार्यालयको आर्थिक सहयोगमा सो प्रशिक्षण सम्पन्न गरिएको हो ।

बौद्धधर्म मान्ने तामाङहरुको जन्मदेखि मृत्युसम्म आफ्नै ह्रमठिम (संस्कार संस्कृति) रहेको छ । आधुनिक र मिश्रित बसाइका क्रममा उनीहरुले आफ्नो संस्कार संस्कृति छोड्दै गएका छन् । त्यही भएर त्यस किसिमको प्रशिक्षण आयोजना गरिएको घेदुङ बिर्तामोड ४ नं वडा समितिका अध्यक्ष रुद्रबहादुर स्याङ्बो तामाङले बताए ।

संस्कृति सम्बन्धी हेर्ने नेपाल तामाङ ताम्बा घेदुङका अध्यक्ष पासाङ मोक्तान र महासचिव टेक घिसिङले तामाङ जातिका मौलिक संस्कार संस्कृतिका बारेमा सहजीकरण गरेका थिए ।

बिर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा भएको तालिम समापन कार्यक्रममा प्रसाई र बिर्तामोड ४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाले तामाङको पहिचान जोगाउन आफूले यथासक्य सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

घेदुङ ४ नं वडा समितिका अध्यक्ष स्याङ्बोको अध्यक्षतामा भएको कार्यक्रममा घेदुङका प्रदेश १ का सल्लाहकार सदस्य पदमबहादुर तामाङ, घेदुङका जिल्ला समन्वय समिति झापाका अध्यक्ष काजीमान घिसिङ, प्रशिक्षक पासाङ मोक्तान, घेदुङका बिर्तामोड नगर अध्यक्ष हस्तबहादुर लुङ्वा लगायतले मन्तब्य राखेका थिए ।

नगरसचिव सूर्यमान पाख्रिनले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कर्मसिंह घिसिङले गरेका थिए । प्रशिक्षार्थीहरुलाई ताम्बा आधारभूत प्रशिक्षणको प्रमाणपत्र वितरण गरिएको थियो भने प्रशिक्षकद्वयलाई घेदुङको नगर र वडा समितिले सम्मान गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *