Sajhamanch Archive

प्रधानमन्त्रीलाई प्रतिगमनप्रति पश्चाताप गर्दै संसदमा आउन आह्वान

Published: in राजनीति, राष्ट्रिय समाचार by .

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले प्रधानमन्त्रीलाई प्रतिगमनका लागि पश्चाताप गर्दै संसद्मा आउन आह्वान गरेको छ ।

संसद् पुनःस्थापनापछि प्रतिनिधिसभामा पहिलोपटक राखिएको दलीय आधारमा बोल्ने क्रममा शुक्रबार माओवादी केन्द्रकी सांसद पम्फा भुसालले राजनीतिक समस्याको समाधान संसदभित्रबाट खोजी गर्न आग्रह गरिन् ।

“समस्याको समाधान संसद्भित्रै खोजौँ, कुनै दरबारमा सहमतिको खोजी गर्नतर्फ नलागौँ,” राष्ट्रपति निवासको सर्वदलीय बैठकतर्फ संकेत गर्दै भुसालले भनिन्, “फेरि विघटनको धम्की दिइँदै छ । गैरजिम्मेवार पुग्यो, अब योभन्दा बढी नदेखाऔँ ।”

उनले गलत कामका लागि पश्चाताप गर्नु पनि महानता भएको भन्दै त्यस्तो नैतिकता र महानता देखाउँदा कोही पनि सानो नहुने बताइन् । “सरकार आफूले गरेको प्रतिगमनप्रति पश्चाताप गर्दै सदन आओस् र नैतिक मूल्यका आधारमा अघि बढोस्,” उनले भनिन्, “हामीले ल्याएको व्यवस्थाअनुसार समस्याको निकास यही सदनबाट निकाल्ने हो ।”

प्रधानमन्त्रीले आफूलाई निर्वाचित गर्ने संसदमाथि दुरासय राखेको भन्दै त्यस्तो पूर्वाग्रही व्यवहार त्यागेर संविधानअनुसार संसद्प्रति उत्तरदायी हुन पनि ध्यानाकर्षण गरिन् । “कार्यव्यवस्था परामर्श समितिको बैठक हुन्छ, सरकार संसद्लाई एजेन्डा दिँदैन । यस्तो गैरजिम्मेवारी कहिलेसम्म रु,” भुसालले प्रश्न गरिन् ।

सरकार संघीयता कार्यान्वयन गर्ने कानुन नबनाउने, जिम्मेवारी छोडेर अध्यादेशबाट शासन गर्नेतर्फ लागेको उनको आरोप छ । “संघीयता कार्यान्वयन गर्न आवश्यक विधेयक दुई वर्षदेखि अघि बढेका छैनन् । अनि, सरकार संविधानलाई तोडमरोड गरेर अध्यादेशबाट शासन गर्ने,” भुसालले भनिन्, “जनतासँग जोडिएका अध्यादेश ल्याउनुहोस्, संसद्ले स्वीकृत गर्छ । हामी समर्थन गर्छौँ ।”

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *