Sajhamanch Archive

राहुल गान्धी मानसरोवर जाने बाटो काठमाडौं

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं मै रहेको बेला विपक्षी नेता राहुल गान्धी पनि आउने भएका छन् ।

मोदी विमस्टेकको चौथो शिखर सम्मेलनका लागि आएका हुन् भने गान्धी तिब्बतको कैलाश मानसरोवरको यात्रामा जानेक्रममा काठमाडौं ओर्लने भएका हुन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार कांग्रेस अध्यक्ष गान्धी मानसरोवर यात्राका लागि शुक्रबार काठमाडौं आउनेछन् । गान्धी १२ सेप्टेम्बरमा दिल्ली फर्कने कार्यक्रम रहेको कांग्रेसका अधिकारीहरुलाई उद्धृत गर्दै सञ्चारमाध्यमहरुले जनाएका छन् ।

तर, गान्धीको काठमाडौंमा बस्ने अवधि र मानसरोवरको भ्रमण तालिका भने सार्वजनिक गरिएको छैन।

गत २६ अप्रिलमा कर्नाटक विधानसभा चुनावको प्रचारका क्रममा गान्धी चढेको जहाजमा अचानक प्राविधिक गडबडी देखिएपछि आपतकालीन अवतरण गर्नु परेको थियो। त्यसको केही दिनपछि २९ अप्रिलमा दिल्लीमा आयोजित एक आमसभालाई सम्बोधन गर्दै गान्धीले उक्त घटनाले आफू भित्रैदेखि बिचलित भएको र त्यतिबेला कैलाश मानसरोवरको सम्झना आएको हुँदा पार्टीले अनुमति दिए राजनीतिक गतिविधिबाट करिब दुईसाताको छुट्टी लिएर चाँडै नै कैलाश मानसरोवारको यात्रामा जाने बताएका थिए।

पछिल्लो समय भारतीय जनता पार्टी (भाजपा) ले गान्धीलाई ‘हिन्दु विरोधी’ का रुपमा चित्रण गर्न थालेपछि गान्धीले आफूलाई हिन्दुविरोधी नभएर ‘शिवभक्त’ भएको दावी गर्दै आएका थिए । उनको कैलाश मानसरोवर जाने निर्णयलाई पनि भाजपाको त्यही आरोपको जवाफका रुपमा समेत हेरिएको छ।

भारतमा आगामी वर्षका लागि निर्धारित लोकसभा चुनाव नजिकिँदै जाँदा सत्ता र विपक्षीबीच जातीय र धार्मिक मुद्दामा आरोप प्रत्यारोप पनि सघन बन्दै गएको छ ।

– कान्तिपुरबाट

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *