Sajhamanch Archive

कोरोना संक्रमण पुनः फैलिँदै, सचेत रहन विज्ञको सुझाव

Published: in समाज, स्वास्थ्य by .

काठमाडौं । कोभिड–१९ संक्रमणका कारण नेपालमा लकडाउन भएको एक वर्षपछि पुनः नेपालमा संक्रमण दर उकालो लागेको छ । पछिल्लो दुई महिनादेखि घट्दो क्रममा रहेको संक्रमितको संख्या चैत लागेपछि बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।

०७६ माघमा नेपालमा चीनबाट आएका एक विद्यार्थीमा कोभिड–१९ संक्रमण पहिलोपटक भेटिएको थियो । लकडाउन र सरकारले अपनाएका मापदण्डका बाबजुद ०७७ जेठयता नेपालमा संक्रमण दर बढ्दै गयो । नेपालमा कोरोना संक्रमणका कारण पहिलोपटक २०७७ जेठ ३ गते सिन्धुपाल्चोककी एक सुत्केरी महिलाको मृत्यु भएको थियो । जेठ महिनाभर कोरोना संक्रमणका कारण १९ जनाले ज्यान गुमाए ।

असार १३ गतेसम मृतकको संख्या २८ पुगेको थियो भने साउन अन्तिमसम्म यो संख्या बढेर ८७ पुगेको थियो । भदौ अन्तिम साता मृतकको संख्या ४११ पुगेकोमा असोजबाट मृत्युदर झनै उच्च बनेको थियो । असोजको पहिलो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्दा दैनिक २–५ जनाको मृत्यु भएको देखिन्छ । जतिबेला सरदर १२ हजार नागरिकमा पीसीआर परीक्षण गर्दा १ हजारदेखि १५ सयसम्म नयाँ संक्रमित देखिएका थिए ।

तर, असोजकै दोस्रो साताबाट संक्रमणका कारण ज्यान गुमाउनेको संख्या बढ्यो । असोज १९ गते १९ जना र २५ गते २२ जनाको मृत्यु भएको तथ्यांक छ । कात्तिक पहिलो साता पनि मृतकको संख्या बढ्दै गएको देखिन्छ । कात्तिक ७ गते १७ संक्रमितको मृत्यु भयो भने कात्तिक १९ गते नेपालमा कोरोना महामारी अवधिकै सबैभन्दा धेरै ३० जनाको मृत्यु भएको थियो । ३ हजार ३०९ जना नयाँ संक्रमित भेटिए । कात्तिक २६ गते पनि मृतकको संख्या २६ पुगेको थियो । यसरी उकालो लागेको मृतकको संख्या मंसिर लाग्दै गर्दा केही घटेको देखियो । मंसिर पहिलो साता न्यूनतम १० देखि १६ जनाको मृत्यु भएकोमा १४ गते मृतकको संख्या संख्या २५ पुग्यो । त्यस्तै मंसिर २१ गते १७ जनाको मृत्यु भएको थियो । यसरी असोज पहिलो साताबाट बढ्दै गएको मृत्युदर मसिंरसम्म उत्कर्षमा पुग्यो । यही अवधीमा नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि कोरोना अवधिकै उच्च रह्यो ।

असोजको पहिलो सातादेखि मंसिर अन्तिम सातासम्म र नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ हजार ७३० पुग्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यही तीन महिनाको अवधीलाई कोरोना संक्रमण उत्कर्षमा पुगेको अवधीको रुपमा लिएको छ । तीन महिना उच्च बिन्दूमा पुगेको कोरोना संक्रमण र मृत्युको दर पुस लागेपछि भने घट्दै गयो । पुस ७ गते ३ महिनाकै सबैभन्दा कम तीन संक्रमितको मृत्यु भयो । तीन महिनाको अवधीमा कोरोना संक्रमणका कारण सबैभन्दा कम मृत्यु भएको दिन पनि पुस ७ गते नै हो । त्यसयता मृतकको संख्या ३–७ को हाराहारमिा रहे पनि संक्रमितको संख्या भने धेरै घटेको देखिन्छ । पुस महिनामा कोरोना संक्रमणका कारण १९४ जनाको मृत्यु भएको थियो ।

माघ महिनामा संक्रमितको संख्या पुसको तुलनामा घटेको छ । माघ ५ गतेसम्म नेपालमा कोरोना संक्रमणका कारण २२ जनाको मृत्यु भएको थियो भने माघ १५ गतेसम्म आइपुग्दा जम्मा मृतकको संख्या २ हजार २० पुगेको थियो । माघ १५ गते भएको शून्य मृत्यु ५ महिनापछिको रेकर्ड हो अर्थात् पाँच महिना लगातार कोभिड–१९ मा संक्रमितले ज्यान गुमाउँदै आएका थिए ।

माघको अन्त्यदेखि नेपालमा कोभिड–१९ संक्रमण दर र मृत्युको संख्या दुवै घटेको मन्त्रालयको तथ्यांक छ । फागुनको पहिलो सातादेखि नेपालमा कोभिड–१९ संक्रमितको संख्या घट्दै गएको तथ्यांक छ । फागुन पहिलो साता ७ गते २ हजार ९३१ जनाको पीसीआर परीक्षण गरिएकोमा ९७ जनामा संक्रमण पुष्टी भएको थियो । त्यसयता लगातार कोभिड–१९ संक्रमितको संख्या ओरालो लागेको देखिन्छ ।

फागुन मध्यदेखि अन्तिमसम्म ३ हजारको हाराहारीमा पीसीआर परीक्षण गर्दा १ सयभन्दा कम संख्यामा संक्रमण पुष्टी भएको पाइएको मन्त्रालयको तथ्यांक छ । फागुनको अन्तिम साता संक्रमितको संख्या दैनिक ४७ सम्म रहेको देखिन्छ ।

तर, चैतयता यो संख्या बढेर एकैदिन ११४ सम्म पुग्यो । चैत ६ गते ३ हजार १६१ जनाको पीसीआर परीक्षण गर्दा १२५ जनामा संक्रमण पुष्टी भएको थियो । चैत १० गतेसम्मको तथ्यांक हेर्दा नेपालमा कोभिड–१९ संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ । यो औषतमा दैनिक ६५७ हो ।

अहिले १ हजार १२८ जना आइसोलेसनमा छन् भने ४८ जनालाई संस्थागत क्वारेन्टिनमा राखिएको छ ।

लकडाउन भएको १ वर्ष बित्दैगर्दा नेपालमा पुनः संक्रमणको दर उकालो लागेको हो । भारतमा ५ महिनायताकै उच्च दरमा संक्रमण फैलिँदै गर्दा भारतसँग सीमा जोडिएका जिल्लाहरुमा जोखिम बढेको छ । काठमाडौं उपत्यकामा समेत संक्रमितको दर बढेको तथ्यांकले देखाउँछ । पछिल्लो २४ घण्टामा देखिएका १८८ संक्रमितमध्ये सबैभन्दा धेरै वाग्मती प्रदेशमा ११६ जना छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा दुई हप्ताअघिसम्म ६–७ जना कोभिड संक्रमित भर्ना हुने गरेकोमा अहिले १२ जानासम्म आउन थालेका छन् । पछिल्लो समय आउने संक्रमितमा खोकी र निमोनियाको देखिने गरेको अस्पतालका प्रमुख कन्सल्टेन्ट डा। अनुप बास्तोलाले बताए । कोभिड–१९ को विभिन्न प्रजाती देखिएसँगै नेपालमा पनि जोखिम बढेको विज्ञहरुले बताउँदै आएका छन् ।

“नेपालमा पछिल्लो समय बढेको संक्रमण दरले पुनः पहिलेकै अवस्था नआउला भन्न सकिँदैन, यसमा सरकार र नागरिक दुवै सचेत हुनु जरुरी छ,” वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन् ।

बाह्रखरी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *