Sajhamanch Archive

डाँफे साकोससँग अरनिको र त्रिशक्तिको ‘मर्ज’

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । झापाको दमकमा २०६४ सालमा सेवा आरम्भ गरेर स्थापित बनेको डाँफे बचत तथा ऋण सहकारी संस्थासँग बिर्तामोड नगरपालिका वडा नं. ४ मा सञ्चालित अरनिको बचत तथा ऋण सहकारी संस्था र बिर्तामोड ५ मा सञ्चालित त्रिशक्ति बहुउद्देश्यीय सहकारी संस्था एकीकरण गरिएको छ ।

राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष मिनराज कडेलको प्रमुख आतिथ्यमा बुधबार बिर्तामोडमा आयोजित एकीकरण घोषणासभामा बोल्दै उनले एउटा, दुईवटा, तीनवटा सहकारीका बीचमा भइरहेका एकीकरणले पनि अभियानलाई अग्रगति प्रदान गर्दै गएको तर हालैमात्र बाग्लुङमा २८ वटा सहकारीबीच एकीकरण गरिएको नमूना प्रस्तुत गरे ।

गैंडाकोटमा एउटा समूहले २५ वटा र अर्को विकुको समूहले २१ वटा सहकारीलाई एउटै संस्था बनाएको सुनाउँदै अध्यक्ष कडेलले केही वर्ष अघिसम्म ३४ हजार भन्दा बढी सहकारीहरु अहिले २९ हजार ८८६ मा पुर्याइएको जानकारी दिए ।

सहकारीहरुबीचको एकीकरणले ‘सिनर्जी’ पैदा गरिरहेको बताउँदै अध्यक्ष कडेलले सदस्यको चौतर्फी आवश्यकता सम्बोधन गर्न एकीकरणको विकल्प नरहेको प्रष्ट पारे । सहकारीहरुको एकीकरण विश्वव्यापी अभ्यास भएको पनि कडेलले उदाहरणसहित जानकारी गराए ।

तीनवटै संस्थाका अध्यक्षले सहकारी एकीकरण वर्तमानको आवश्यकता भएको बताए । एकीकरण पछि डाँफे साकोस नै नामाकरण गरिने सहमति भएको छ ।

संस्थाका अध्यक्ष तुलाराम न्यौपानेले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट एकीकरणको स्वीकृति लिएर कारोबार पनि एकीकृत हुन थालेको घोषणासभामा जानकारी गराए । जिल्लाभर कार्यक्षेत्र स्वीकृत डाँफे साकोसको दमकमा मुख्य कार्यालय छ भने गौरादह, धरमपुर र बुद्धशान्तिमा यसअघिदेखि सेवा केन्द्र सञ्चालनमा थिए ।

बिर्तामोडका दुईवटा सहकारीहरुसँग एकैपटक एकीकरण गरेर यहाँ पनि सेवा केन्द्र थालिएको जानकारी गराउँदै अध्यक्ष न्यौपानेले अब संस्थामा ६ हजार हाराहारी शेयर सदस्य पुगेको बताए । ‘डाँफे एक्लैको ५५ करोड २९ लाखको वासलात थियो’ अध्यक्ष न्यौपानेले थपे ‘त्रिशक्तिको २ करोड हाराहारी र अरनिकोको १ करोड ४५ लाख थपिएपछि अब ६० करोड हाराहारीको वासलात पुगेको छ ।’

संस्था एकीकरण घोषणा समारोहमा त्रिशक्ति बहुउद्दश्यीय सहकारीका अध्यक्ष देवीप्रसाद भट्टराईले शेयर सदस्यको वित्तीय आवश्यकता पूरा गर्न र सुनिश्चित भविष्यको लागि डाँफेसँग एकीकरण गरेको बताए । उनले धेरैवटा सहकारीले एकीकरणका लागि प्रस्ताव राखे तापनि डाँफे साकोसको कारोबार, नीति आफूहरुलाई मन परेकाले एकीकरण गर्न अग्रसर भएको प्रष्ट पारे ।

यस्तै अरनिको साकोसका अध्यक्ष रोहित भट्टराईले ‘सहकारी आन्दोलनलाई थप सशक्त एवम् गतिशील बनाउन वर्तमानमा रहेका सानो वित्तीय सेवा गर्ने सहकारीहरु एकीकरण गर्नु नै उत्तम विकल्प भएको सञ्चालक समितिको निश्कर्ष पछि आजको दिन आएको’ प्रष्ट पारे ।

डाँफे सहकारीका अध्यक्ष न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य तथा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल, प्रदेश १ का सहकारी रजिष्ट्रार बलराम निरौला, राष्ट्रिय सहकारी कर्मचारी संघका केन्द्रीय सचिव खोमप्रसाद बगाल लगायतले सहकारी एकीकरणको आवश्यकता र सार्थकताका बारेमा बोलेका थिए ।

संस्थाका उपाध्यक्ष सन्तोषकुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव लीलानाथ खनालले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *