Sajhamanch Archive

बिर्तामोडमा विपन्न युवा लक्षित तीन महिने निःशुल्क कम्युटर तालिम सुरु

Published: in मुख्य समाचार, शिक्षा, समाज by .

बिर्तामोड । बिर्तामोड एजुकेशन फाउण्डेशनको सहयोगमा राष्ट्रिय युवा परिषद नेपाल झापाले बिर्तामोडमा ३ महिने निःशुल्क कम्प्युटर शिक्षा तालिम शुरु गरेको छ । विपन्न तथा जेहेन्दार विद्यार्थीलाई लक्षित गरी कम्प्युटर शिक्षा तालिम आयोजना गरिएको आयोजकले जनाएको हो ।

प्रदेशसभा सदस्य एकराज कार्कीले कम्प्युटर अन गरेर तालिमको उद्घाटन गरेका हुन् । प्रमुख अतिथि कार्कीले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम प्रदान गर्ने जमर्को गरेर बिर्तामोड एजुकेशन फाउण्डेशन र युवा परिषद झापाले उदाहरणीय कार्य गरेको बताए ।

कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं. ३ का वडाध्यक्ष भोजराज सिटौला, नेकपा एमाले बिर्तामोड नगर कमिटीका अध्यक्ष उमानाथ ओली, नेपाल शैक्षिक परामर्श संघ (इक्यान) झापाका अध्यक्ष सुमन शर्मा जमरकट्टेल लगायतले वर्तमान समयमा कम्प्युटर शिक्षाको महत्वबारे बोलेका थिए । उनीहरुले निःशुल्क तालिम लिने अवसरको भरपूर उपयोग गर्दै ज्ञान हासिल गरेर आत्मनिर्भर बन्न तालिममा सहभागी प्रशिक्षर्थीलाई सुझाव दिएका थिए ।

बिर्तामोड एजुकेशन फाउण्डेशनका प्रबन्ध निर्देशक राज कार्कीले आजको युग प्रविधिको युग भएको भन्दै कम्प्युटरको शिक्षाले मात्र युवा पुस्तालाई स्थापित गर्न सक्ने औंल्याए । आजको युवा पुस्ताले प्राविधिक शिक्षा सहजै पाउन् भन्ने उद्देश्यले विपन्न विद्यार्थीलाई लक्षित गरी तालिमको आयोजना गरिएको उनको भनाई छ । उनले स्थापनाकालदेखि नै फाउण्डेशनले विभिन्न समाजिक कार्य गर्दै आएको पनि जानकारी दिए ।

राष्ट्रिय युवा परिषद नेपाल, जिल्ला कार्यसमिति झापाका अध्यक्ष मदन बुढाथोकीले युवा पुस्ताले प्राविधिक ज्ञानमा दखल राख्नु पर्ने बताए । पछिल्लो समय युवा पुस्ताले अनावश्यक रुपमा सामाजिक सञ्जालमा बढी समय खेर फालिरहेको भन्दै उनले युवा पुस्ताले रोजगारमुखी प्राविधिक ज्ञान हासिल गर्नुपर्नेमा जोड दिए ।

उनले आइटी शिक्षा अहिलेको समयको माग भएको भन्दै त्यसबाट कोही पनि वञ्चित हुनु नपरोस्, कम्प्युटरमा गरिब तथा जेहेन्दार विद्यार्थीको पहुँच पुगोस् भन्ने अभिप्रायले राष्ट्रिय युवा परिषदले तालिम आयोजना गरेको बताए । उनले गरिब तथा जेहेन्दार विद्यार्थीको क्षमता विकासमा यस्ता तालिमले ठूलो सहयोग पुर्याउने विश्वास समेत व्यक्त गरे ।

राष्ट्रिय युवा परिषद नेपाल जिल्ला कार्यसमिति झापाका निवर्तमान अध्यक्ष छबि चुंडालले औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन सामाजिक अभियानकर्मी दीपक दासले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *