Sajhamanch Archive

विमस्टेक सम्मेलन पछि नेपाल र भारतका प्रधानमन्त्रीले भेटेर के गरे

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार by .

काठमाडौ । प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास विमस्टेक शिखर सम्मेलनको समापनसँगै नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय वार्ता भएको छ ।

विगतमा भारतले गरेका प्रतिवद्धता तथा समझदारी आगामी असोज ३ गते संविधान दिवस अगावै कार्यान्वयन गरिने वार्तामा पुनः प्रतिवद्धता जनाइएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस संयोजक चेतन अधिकारीले दिएको जानकारीअनुसार वार्ताका क्रममा आउँदो पाँच वर्षका लागि नेपाललाई आवश्यक पर्ने मलखाद उपलब्ध गराउने विषयमा गृहकार्य भइरहेको भारतले जनाएको छ । उक्त अवसरमा नेपालमा कृषिको आधुनिकीकरणका लागि सहयोग आदानप्रदान गरिने छलफल भएको छ ।

यस्तै, रक्सौल–काठमाडौ ब्रोडगेज रेलमार्गको प्रारम्भिक सर्भेका विषयमा दुई देशबीच हस्ताक्षर गरिएको समझदारी पत्रको आदान प्रदान पनि भएको छ । समझदारी पत्रमा नेपालकातर्फबाट सचिव भौतिक योजना मधुसुदन अधिकारी तथा भारतका तर्फबाट राजदूत मनजीत पुरीले हस्ताक्षर गरेका छन् ।

दुईपक्षीय छलफलमा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी भारतीय प्रधानमन्त्री मोदीलाई सम्बाोधन गर्दै भारतका पूर्वप्रधानमन्त्री तथा राजनेता अटलविहारी वाजपेयीको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

यस्तै, केही महिनाअघि नेपाल र भारतका प्रधानमन्त्रीबीच भएका समझदारीहरु क्रमशः कार्यान्वयन भइरहेकोमा दुवै पक्षबाट सन्तुष्टि व्यक्त गरिएको छ ।

समझदारी अनुुसार भारतले नेपाललाई केही हवाई रुट प्रदान गरिसकेको र केही प्रदान गर्ने विषयमा प्राविधिक रुपमा छलफल भइरहेको छ । यस्तै, सीमावर्ती इलाकामा हुने गरेको डुवान समस्याका सम्बन्धमा संयुक्त कार्यदलहरुले अध्ययन गरिरहेकोमा दुवै देशका प्रधानमन्त्री हरुले सन्तुष्टि व्यक्त गरेका छन् ।

त्यसैगरी आन्तरिक जलमार्ग, रक्सौल–काठमाडौ रेलमार्ग, जोगवनी–विराटनगर रेलमार्ग, जयनगर–बर्दिवास रेलमार्ग तथा टनकपुरको सडकका सम्बन्धमा भइरहेको कामप्रति दुवै देशका प्रधानमन्त्रीले सन्तुष्टि व्यक्त गरेका छन् ।

नेपाली कृषकहरुले अदुवा निर्यातका सम्बन्धमा भोग्नु परेको समस्यालाई भारतले अन्त्य गरिदिएकोमा प्रधानमन्त्री ओलीले भारतीय समकक्षीलाई धन्यवाद ज्ञापन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *