Sajhamanch Archive

‘६० वर्षमाथिका नागरिकलाई अलग पहिचान दिलाउँछु’

Published: (Updated: ) in अन्तर्वार्ता, मुख्य समाचार, स्थानीय तह, , by .

२०७४ सालमा सम्पन्न स्थानीय तहको चुनावमा कनकाई नगरपालिका वडा नम्बर ७ का लीलाबहादुर कन्दङवाले नेपाली कांग्रेसका यादबप्रसाद उप्रेतीलाई ४०४ मतले पछि पार्दै वडाध्यक्ष पदमा विजयी भएका हुन् । तत्कालिन नेकपा एमालेबाट चुनावी मैदानमा होमिएका ६४ वर्षीय कन्दङवाले यो अवधिमा के कस्ता काम गर्न भ्याए ? बाँकीका चार वर्षमा आफ्नो वडालाई उनी कस्तो बनाउने योजनामा छन् ? यही सेरोफेरोमा केन्द्रित रहेर साझामञ्चका  प्रतिनिधि ज्ञानु घिमिरेले कन्दङवासँग अन्तरसम्वाद गरेकी छन् ।

वडाध्यक्ष हुँदा कस्तो अनुभूति हुँदो रहेछ ?

निकै महत्वपूर्ण जिम्मेवारी तथा संवेदनशील कामको अभिभारा थपिएको महसुस गरेको छु । र, यसलाई आफूले आफ्नो कर्तव्य सम्झेर सम्पन्न गर्दै लाने प्रयत्न गरेको छु ।

जनप्रतिनिधि भएको एक वर्ष भयो, यो अवधिमा के कति कामहरु सम्पादन गर्नुभयो ?

एक वर्षको अवधिमा हामीले ४३३ मिटर बाटो पिच गरेका छौं । जनपथका भित्री बाटाहरुमा ग्रावेल गरेका छौं । भृकुटीमार्ग जाने बाटो स्तरोन्नति गरेका छौं । बिरिङ नदी कटानबाट बचाउन ५ ठाउँमा ताराजालीमा ढुङ्गा भरेर बाँध बनाएका छौं । विद्युत पोल र तार मा १३ लाख बजेट विनियोजन गराएका छौं । शौचालय निर्माणका लागि पेन ७२, रिङ ४१ वटा उपलब्ध गराएका छौं ।

बजारलाई ढलमुक्त बनाएको छु । आफ्नो वडाका लक्षित वर्गलाई अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गरेका छौं । युवामा लागुऔषत न्यूनिकरण सचेतना कार्यक्रम सञ्चालन गरेको छु । ७२ जना महिलालाई सिलाई कटाई तालिम गराएको छु । स्वस्थ खानेपानीका लागि बजेट छुट्याइएको छ र कार्य गर्दै जाँदा एक वर्ष बितेको छ ।

चालू अर्थिक वर्षका लागि नगर र वडाबाट १ करोड १६ लाख ८२ हजारको बजेट छुट्टाइएको छ । यो वर्ष विरिङमा थप स्पोर लगाउने योजना छ । वडाभरका विद्यालयहरुलाई शैक्षिक सामग्री खरिद गर्नका लागि बजेट दिइनेछ । भृकुटीमार्ग पिच गर्ने तथा अन्य सडकहरु ग्रावेल गर्ने योजना छ । वडाभित्रका सहरी क्षेत्रमा ढल निकासको व्यवस्था गर्ने, शान्ति सुरक्षाको व्यवस्था मिलाउन प्रहरी विट बनाउने तयारी गरिएको छ ।

के तपाईले निर्वाचनका बेला जारी गरेको घोषणापत्रमा भनेकै कार्य गरिरहनु भएको छ ?

वडाका प्रशासनिक कामहरु बाहेक जनसरोकारका र विकास निर्माणका सबै काम पार्टीले निर्वाचनका बेलामा जारी गरेको घोषणपत्र अनुरुप नै गरिरहेको छु भन्ने लाग्छ ।

हिजो प्रतिष्पर्धामा रहेका दलहरु र जनताबाट कस्तो साथ पाउनु भएको छ ?

मैले कतै बाटो बिराउँछु कि भनेर उहाँहरुले सल्लाह, सुझाव र हौसला दिइरहनु भएको छ । मेरा सबै कार्यहरुमा उहाँहरुको महत्वपूर्ण साथ मिलेको आभाष हुन्छ ।

अबका ४ वर्षका लागि तपाईंका योजनाहरु के–कस्ता छन् नि ?

आगामी वर्षहरुका लागि निर्धारित मेरा योजनामध्ये उज्यालो नगरको रुपमा आफ्नो वडालाई विकास गर्ने, लागुऔषध दूव्र्यसनीमुक्त वडा बनाउने, शिक्षा तथा स्वच्छ खानेपानी सबै क्षेत्रमा पुर्याउने, वडाभरका बाटोहरु स्तरोन्नति गरी नक्सा बनाउने लक्ष्य छ ।

यस्तै, १५ फुटभन्दा चौडा बाटोहरु कालोपत्रे गर्ने, महिला तथा बालबालिका हिंसामुक्त वडा बनाउने, सहकारीको माध्यमबाट वडाबासीलाई आत्मनिर्भरतर्फ उन्मुख गराउने, ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई समाजमा सम्मानित महसुस गर्ने गरी नयाँ किसिमको पहिचान दिलाउने कार्यको सुरुवात गर्ने मेरो लक्ष्य छ । किरातेश्वर मन्दिरलगायत सबै धार्मिक स्थललाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आदि कार्यले मेरो कार्यकालमा वडालाई नमूना बनाउन बल प्रदान गर्ने विश्वास लिएको छु ।

के तपार्इंले घोषणापत्रमा उल्लेख गरेका प्रतिवद्धताहरु पूरा गर्न सम्भव छ ?

सबै १०० प्रतिशत गर्न सक्छु त म भन्दिन । तर सबै कार्यहरु पूरा गर्नको लागि सधै लागि पर्नेछु ।

आफूलाई मतदान गरी वडाध्यक्ष बनाउने वडाबासीहरुलाई केही भन्न चाहनुहुन्छ कि ?

जोजो जे भए पनि हामी सचेत नागरिक हौं, सबै एकै हौं । त्यसैले मेरा वडाबासीहरुलाई हक अधिकार खोजेर मात्र बस्ने होइन, प्रतिष्पर्धाका साथमा कार्य गरेर जान आग्रह गर्दछु । मेरा सकारात्मक कार्यमा सधै साथ तथा नकारात्मक कार्यमा विरोध गरिदिनु होला । मबाट कुनै गल्ती कमजोरी भएमा तपार्इंहरुले दिनु भएको सल्लाह सुझाब अनुसार सुधार गर्दै लैजानेछु । म तपाईंकै सहयात्री हुँ, एउटा मानव भएर समाजमा नयाँ किसिमको छाप छोड्नु होला । म त्यसलाई सधै समर्थन गर्ने छु, हाम्रो टोल नगरलाई आफ्नै बनाएर जाउँ, सबै जुटेर जाऔं, यही मेरो आग्रह छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *