गहिरो प्रेमका मृत कथाहरू : जसले धोका पाउँदा मृत्यु रोजे
Published:
by .काठमाडौं । आधुनिक पुस्तामा ‘प्रेम’को महत्व कम भयो भन्ने समाजका लागि केही मृत उदाहरणहरू छन् । प्रेम असफल हुने चिन्ता, धोका पाएको निष्कर्श निकालेर ज्यान फाल्नु पनि प्रेमको महत्व कायम राख्नु बुझ्नुपर्छ ।
नेपालका विभिन्न ठाउँमा कतिपय यस्ता अप्रत्यासित घटना भएका थिए जसले ‘प्रेम’को महत्व र अवमुल्यन दुवैको अर्थपूर्ण उत्तर दिन्छ । यस्ता अप्रत्यासित घटना यस्ता छन् ।
एक बर्ष पनि भएको छैन । झापाको कन्काई नगरपालिका–६ का एक युगल जोडीले प्रेममा असफल भएपछि अंगालो हालेर सँगै आत्महत्यागरे । एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका थिए ।
२५ बर्षिय ईश्वर भट्टराई र सोही स्थानका २३ बर्षिया अस्मिता तोलामी (सार्की)ले विरिङ खोलाको किनारमा रहेको सिसौको रुखको हाँगामा प्लास्टिकको डोरीको पासो लगाई झुण्डिएर आत्महत्या गरेका थिए । उनीहरूको समस्या थियो अन्तरजातीय प्रेम र समाजको डर ।
उनीहरूबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको स्थानीयले बताएका छन् । तर अन्तरजातिय भएकै कारण उनीहरूको प्रेम सफल हुन नसकेको बताइन्छ । सोही समयमा अस्मिताको विवाहका लागि फुलमाला समेत भएका कारण उनीहरू विक्षिप्त भएर आत्महत्या गरेको हुन सक्ने अनुमान गरिएको थियो ।
२०७० माघ २३ गते कञ्चनपुरकी पूर्णिमा बानियाँ र बिमला ओझा दुवैको शव धनगढी–४ उत्तरबेहडी स्थित शिवपुरी सामुदायिक वनमा भेटिएको थियो । विमलाको पासो लगाएको र पूर्णिमाको बिष खाएको अवस्थामा शव भेटियो ।
दुवैले आत्महत्या गरेका हुन् या हत्या भएको हो भन्ने कुरा अनुसन्धानमा नै थियो, तर प्रहरीले अनुसन्धानवाट प्रेमकै कारण उनीहरूले ज्यान गुमाउन परेको पत्ता लागेको थियो । कञ्चनपुर परासनका बलराम भनिने मातृका जैशीले दुवै युवतीलाई यौन सम्पर्कका लागि मात्र प्रेमको नाटक गरेका थिए । अन्धो भएर प्रेम गरेका यी दुवै युवतीलाई उनले रचेको प्रेमको नाटक थाहा थिएन जति बेला थाहा पाए ज्यान गुमाउन प¥यो ।
दुवै प्रेमीकाले बलरामका बारेमा थाहा पाएपछि दुवैले विवाहको प्रस्ताव राखे, तर बलरामले उनीहरूलाई आफ्नो जीवनबाट हटाउने योजना बनाए । प्रहरीका अनुसार विमलालाई पुर्णिमा र बलरामले पासो लगाएर मार्ने योजना अनुसार पूर्णिमाले सलको पासो बनाइन् ।
प्रेममा धोका पाएको सुसाइट नोटमा उल्लेख गर्दै काठमाडौंकी एक युवतीले आत्महत्या गरिन् । खुशीबु–१७ नयाँबजारस्थित नयाँ प्राइम कलेज नजिक घरमा डेरा गरी बस्ने युवती तेह्रथुम सदरमुकाम स्थायी घर भएकी अन्दाजी २७–२८ बर्षकी प्रमिला दाहालले आफ्नै कोठामा पासो लगएर आत्महत्या गरेकी थिइन् ।
दुई दिनसम्म ढोका नखोलेपछि छिमेकीले झ्यालबाट चिहाएर हेर्दा उनि पासो लगाएको अवस्थामा भेटिएकी थिइन् । उनको कोठामा भेटिएको सुसाइड नोटमा एक युवकले प्रेम गरेर धोका दिएको व्यहोरा उल्लेख थियो ।
आत्महत्याका अनेक कारण हुन सक्छन् । तर प्रेममा आत्महत्या गर्ने कम छैनन् । यस्ता उदाहरण पस्किने जोडिको संख्या पनि उल्लेख्य छ ।
मोरङ केराबारी–२ की १७ वर्षीय रक्षा भण्डारी र केराबारी–४ कुवापानीका १९ वर्षीय खेमप्रसाद बरालले एक दिन अघिपछि आ–आफ्नो घरमा झुन्डिएर सबैलाई चुनौती दिएका थिए ।
केराबारीस्थित मछिन्द्र माविबाट एसएलसी पास गर्नासाथ उनीहरूबीच प्रेम रहेको र प्रेममा बाधा आएपछि दुवैले आ–आफ्नो घरमा आत्महत्या गरेका थिए ।
प्रेमिका रक्षा क्षत्री थिइन् भने प्रेमी खेमराज उपाध्याय बाहुन् । आमाले क्षत्रीकी छोरी नल्याउनु भनेपछि तनावमा परेका खेमराजले प्रेमिका रक्षासँग अब के गर्ने भन्दै समस्या सुनाएका थिए ।
उक्त कुरा थाहा पाएर सँगै मर्ने बाँच्ने बाचा गरेकी प्रेमिका रक्षाको मनको भक्कानियो । टाउको दुख्यो भन्दै कोठामा पसेर सलको पासो लगाई झुन्डिएकी थिइन् ।
प्रेमिका झुन्डिएको थाहा पाएपछि खेतमा पानी लगाउन गएका खेमप्रसाद फर्केरलगत्तै सुसाइट नोट लेखी नाइलनको पासो लगाएर कोठामा झुण्डिए । प्रेमी बराल दुई दाजु भाइमध्ये जेठा थिए । बाबु बैदेशिक रोजगारमा थिए । यता परिवारकी दुई छोरीमध्ये जेठी रक्षा मावलीमा बसेर पढ्दै आएकी थिइन् ।
झुुण्डिनुअघि खेमप्रसादले प्रेमिकालाई संबोधन गर्दै लेखेको सुसाइट नोटमा आफूलाई बिरामी हुँदा पनि साथ दिएको तर अकस्मात मृत्यु रोजेर सेवा गर्ने अवसर नदिएको भन्दै गुनासो पोखेका थिए ।
बरालले आफूलाई प्रेमिकासँग एउटै चितामा जलाइदिन आग्रहसमेत गरेका थिए । सँगै चितामा डढ्ने इच्छा भने परिवारका कारण पूरा हुन पाएन ।
किन हुन्छ प्रेममा आत्महत्या ?
समाजशास्त्रीहरूका अनुसार प्रेम जोडीको भावना बुझ्न नसक्दा, सामाजिक विभेद्को चरम अवस्थाका कारण प्रेममा आत्महत्या हुने गरेका छन् । धोका पाएका कतिपय युवतीहरूले भने समाजमा वदनामीको डरका कारण आत्महत्या रोज्छन् ।
संसारभर बढी आत्महत्या हुने मुलुकहरूमध्ये नेपाल सातौं स्थानमा पर्ने विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालमा पुरुषको तुलनामा महिलाले धेरै आत्महत्या गर्ने गरेका छन् । आत्महत्या गर्ने महिलाको तथ्यांकलाई हेर्ने हो भने नेपाल तेस्रो स्थानमा पर्छ । नेपालमा बर्षेनी औसत आठ हजार ६ सय ४० जना मानिसले आत्महत्या गर्ने गरेका छन् । यो संख्या अझ बढी हुने सक्ने मानसिक रोग विशेषज्ञहरूको दाबी छ ।
सामान्य अर्थमा आफैंले आफ्नो हत्या गर्नुलाई आत्महत्या भनिन्छ । प्रायः मानसिक तनाव तथा पीडा थेग्न नसकी बाँच्नुभन्दा मर्न सजिलो ठानेर मानिसले आत्महत्या गर्छन् । तर यस किसिमको पीडा नहुँदा पनि मानिसले रिसको आवेगमा आत्महत्या गरेको पनि पाइन्छ । कतिपय देशमा आत्महत्या तथा आत्महत्याको कोसिस सामाजिक दृष्टिमा पाप र कानुनी दृष्टिमा अपराध मानिन्छ ।
धार्मिक दृष्टिमा त आत्महत्या गर्ने मानिस सीधै नर्कमा जान्छन् भन्ने मान्यता छ । तर मनोवैज्ञानिक दृष्टिमा आत्महत्या एक प्रकारको मानसिक विकृति (रोग) हो । यो विकृति पछिल्लो ५० वर्षको अवधिमा ६० प्रतिशतले बढेको छ । हिजोआज आत्महत्या मृत्युको प्रमुख कारण बनेको छ ।
महान् सामाजशास्त्री दुर्खाइमले आत्महत्याको सामाजिक सिद्धान्त प्रतिपादन गरेका छन्, जुन सिद्धान्त निकै चर्चित छ । अर्का समाजशास्त्री हेन्डिनले आत्महत्याका बारेमा छुट्टै सिद्धान्त विकास गरेका छन् । तर यहाँ उल्लेखनीय कुरा के भने आत्महत्या केवल सामाजिक कारणले मात्र हुने गर्दैन । आत्महत्यामा सामाजिक कारणका साथसाथै मनोवैज्ञानिक तथा शारीरिक कारणहरूको पनि उत्तिकै ठूलो भूमिका रहन्छ ।
डिप्रेसन नै आत्महत्याको प्रमुख कारण हो । डिप्रेसनका साथै दुश्चिन्ता, व्यक्तित्व विकार तथा सिजोफ्रेनिया आदि जस्ता मानसिक रोगहरूको कारणहरूले पनि आत्महत्या गर्छन् । मानिसलाई डिप्रेस्ड बनाउने सामाजिक तथा मनोवैज्ञानिक कारणहरूले गर्दा मानिसले आत्महत्या गर्न सक्दछन् । परीक्षामा असफलता । प्रेममा बिछोड तथा असफलता । कष्टदायक वैवाहिक जीवन । अवैध गर्भजस्ता कारणले नेपालमा आत्महत्या भएको पाइन्छ ।
जैविक दृष्टिमा आत्महत्या गर्ने मानिसको मस्तिष्कमा सेरेटोनिन आदि स्नायु रसायनहरूको कमी हुन्छ । यस्ता रसायनहरूको कमी भयो भने मानिसलाई संवेदना नियन्त्रण गर्न कठिन पर्छ र उनीहरूमा आक्रमक तथा विध्वंसक आचारण बढ्छ, जसले गर्दा मानिस आत्महत्या गर्न पुग्छन् । वंशाणुगत कारणले पनि मानिसले आत्महत्या गर्छन् ।
दैनिक नेपालबाट ।
Comments