Sajhamanch Archive

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कृतको नाम सार्वजनिक

Published: in मुख्य समाचार, लोकप्रिय, समाज, स्थानीय तह by .

बिर्तामोड । लामो समयदेखि सामाजिक कार्यमा क्रियाशील रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान भद्रपुर झापाले विभिन्न विधामा अनुकरणीय कार्यहरु गर्ने व्यक्त्विहरुको पहिचान गरी प्रोत्साहन गर्न पुरस्कृत गर्ने भएको छ ।

शनिवार पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गरी प्रतिष्ठानले सन् २०१९ र २०२० मा पुरस्कृत हुनेहरुको नाम सार्वजनिक गरेको हो ।

प्रतिष्ठानले रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कार–२०१९ गोरखा पालुङटार–७ का राजेन्द्रराज पन्तलाई प्रदान गर्न भएको छ । सोही पुरस्कारबाट २०२० मा पाल्पा मदनपोखरा–७ का ढकेश्वर घिमिरे र प्रचण्डमान श्रेष्ठलाई संयुक्त रुपमा पुरस्कृत गरिने भएको छ । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।

त्यसैगरि गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार–२०१९ दोलखा तामाकोसी–२ की सिर्जना कार्कीलाई प्रदान गरिने भएको छ भने सो पुरस्कार २०२० बाट झापा अर्जुनधारा–की इन्दिरा रानालाई पुरस्कृत गरिने प्रतिष्ठानले जनाएको छ । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।
त्यस्तै अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार–२०१९ बाट झापा चन्द्रगढीका चूडामणि रेग्मी तथा उक्त पुरस्कार–२०२० बाट दाङ घोराही–१८ का दधिराम सुवेदीलाई प्रदान गरिनेछ । पुरस्कारको राशि एक लाख एक हजार १११ रुपैयाँ रहेको छ ।

त्यस्तै गायनका माध्यमबाट नेपाललाई चिनाउन सफल झापा शिवसताक्षीका गायक प्रितम आचार्यलाई देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कार–२०१९ बाट पुरस्कृत गरिने छ भने सोही पुरस्कार–२०२० बाट मोरङ बुढीगंगा–२ को रक्षा किशारी समूहलाई पुरस्कृत गरिने बताइएको छ । पुरस्कारको राशि ५१ हजार १११ रुपैयाँ रहेको छ । त्यस्तै, प्रतिष्ठानले यो वर्ष अन्तर्राष्ट्रिय जुडो खेलाडी झापा गाउँपालिकाकी २ की देविका खड्कालाई श्री प्रसाद पुरस्कार तथा सम्मान प्रदान गर्ने भएको छ । पुरस्कारको राशि २५ हजार १११ रुपैयाँ रहेको छ । खड्का १३ औँ सागकी स्वर्ण पदक विजेता हुन् । नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी उनी एसियन जुडो खेलमा टिम इभेन्टकी रजत विजेता खलाडी पनि हुन् ।

प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा शनिबार बिर्तामोडमा आयोजित कार्यक्रममा पुरस्कृत र सम्मानित व्यक्ति संघसंस्थाको नाम सार्वजनिक गरिएको थियो । कार्यक्रममा अध्यक्ष ओलीले प्रतिष्ठानले अर्को वर्षबाट वितरण गर्नेगरी श्री प्रसाद ओली प्रज्ञान पुरस्कार थप गरिएको जानकारी दिएका थिए ।

प्रत्येक दुई वर्षमा प्रदान गरिने पुरस्कारको राशि पाँच लाख रुपैयाँ रहेको छ । राष्ट्रको गरिमा बढाउन योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति वा संस्थालाई यो पुरस्कार प्रदान गरिनेछ ।

यसैगरी, प्रतिष्ठानका संस्थापक कार्यसमिति सदस्य बद्रीप्रसाद ओलीको स्मृतिमा क्यान्सरसम्बन्धी र यस्तै प्रकृतिका रोग निवारणको खोजीमा लागेका व्यक्ति, संघसंस्थामध्येबाट प्रत्येक वर्ष एक लाख एक हजार १११ रुपैयाँको सम्मान पुरस्कार प्रदान गरिने भएको छ ।

त्यस्तै, उनकै स्मृतिमा क्यान्सर वा यस्तै प्रकृतिका रोगको खोजी कार्यलाई प्रभावकारी बनाउन प्रत्येक वर्ष तीन लाख रुपैयाँसम्मको वार्षिक सहयोग गरिने कार्यक्रममा जानकारी दिइयो । बद्रीप्रसाद ओलीको ब्रेन क्यान्सर रोगबाट वि.सं २०७६ चैत ७ गते ५९ वर्षको उमेरमा निधन भएको थियो । उनी श्रीप्रसाद ओली र अम्बिकादेवी ओलीका कान्छा छोरा हुन् । स्वर्गीय बद्रीप्रसादको परिवार पुरस्कारका लागि प्रत्येक वर्ष ५ लाख रुपैयाँ प्रतिष्ठानलाई उपलब्ध गराउनेछ ।

सबै पुरस्कार यही बैशाख १४ गते कनकाई उद्योग वाणिज्य संघको सभाहलमा वितरण गरिनेछ । अध्यक्ष ओलीका अनुसार श्री प्रसाद ओली साहित्यिक पुरस्कार यो वर्ष सुरुङ्गाका साहित्यकार कोमलप्रसाद पोखरेललाई प्रदान गरिने भएको छ । चन्द्रगढीको लेखनाथ पुस्तकालयले लेखनाथ जयन्तीको दिन सो पुस्कार वितरण गर्नेछ ।

नारदमणि न्यौपानेले संञ्चालन गरेको कार्यक्रममा प्रतिष्ठानका सचिव यज्ञराज गोपाल ओलीले शब्दद्वारा स्वागत गर्दै प्रतिष्ठानका बारे जानकारी गराएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *