Sajhamanch Archive

मेची सहकारीद्वारा एकीकृत सहकारी बस्ती निर्माणको काम सुरु

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, सहकारी by .

झापा । मेची सहकारी संस्थाले एकीकृत सहकारी बस्ती निर्माण सुरु गरेको छ । सहकारीले दमक नगरपालिको वडा नं. ४ मा १ विगाहा १६ कट्ठा जमिनमा बस्ती निर्माण सुरु गरेको हो ।

२४ वर्ष अघि स्थापित संस्थाले ५२ ओटा एकै प्रकृतिका घर रहने सहकारी बस्ती बनाउन थालेको संस्थाका अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिए ।

उनका अनुसार संस्थाले आँफै जमिन खरिद गरी घर नभएका सदस्यलाई लक्षित गरी एकीकृत बस्ती निर्माण शुरू गरेको छ । प्रत्येक घरको लागत ३३ लाख रुपैयाँ रहने संस्थाले जनाएको छ ।

संस्थाले घर नभएका सदस्यलाई अनुदानमा उपलव्ध गराउन नभइ सहुलियतका लागि एकीकृत बस्ती बनाउन थालेको जनाएको छ । २ वर्ष अघि ४ करोड १७ लाखमा खरिद गरिएको जग्गा हाल खरिद गरेकै समयको मुल्यका आधारमा उपलव्ध गराईने र एकै पटक धेरै घर बनाउँदा लागत पनि कम हुने भएकाले सदस्यले सहुलियत महसुस गर्ने सहकारी बस्ती निर्माण समितिका संयोजक डिल्लीप्रसाद न्यौपानेले बताए ।

घरको मुल्य करिव ३३ लाख पर्ने र ८ देखि १२ धुरसम्मका घडेरीसहितको मुल्य ४३ देखि ५१ लाख रुपैयाँ पर्ने संस्थाका प्रवन्धक खोमप्रसाद बगालेले जानकारी दिए । तर सदस्यहरुले सोही जमिनको धितोको आधारमा सहुलियत ऋण पाउने र २० वर्षको भुक्तानी अवधी उपलव्ध गराईने उनको भनाइ छ ।

संस्थाले घर तथा जग्गाको स्वामित्व घरधनी शेयर सदस्यलाई हस्तान्तरण गरे पनि ५ वर्ष बिक्री गर्न नपाईने नियम बनाईएको छ । आगामी वर्षको भदौ सम्ममा बस्ती निर्माण पूरा गरी हस्तान्तरण गर्ने संस्थाको लक्ष्य छ ।

झापा, मोरङ र इलामका ८ स्थानबाट कारोवार गरी रहेको संस्थाले आफ्नो प्रत्येक कारोवार स्थानीय तहमा एकीकृत सहकारी बस्ती विकास गर्ने लक्ष्य रहेको जनाएको छ ।

पहिलो बस्तीको नतिजा अनुसार अन्यत्र पनि बस्ती विकास गरिने अध्यक्ष भट्टराईको भनाइ छ । सदस्यहरुको आय स्तरका आधारमा पहिलो बस्ती भन्दा कम र बढि लागतका बस्तीको अवधारणा ल्याईने उनको भनाइ छ ।

सहकारी बस्तीका घर ओगटेर खरिद बिक्री गरी कसैले नाफा कमाउने अवस्था नआओस भनेर यो नियम बनाइएको अध्यक्ष भट्टराईले बताए । कम आयस्तर भएका सदस्यहरुलाई लक्षित गरी यस पछि अर्को एकीकृत बस्ती निर्माण गरिने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *