Sajhamanch Archive

राष्ट्रपति रनिङ शिल्ड विजेता खेलाडीलाई भद्रपुर नगरपालिकाद्वारा सम्मान

Published: in खेलकुद, स्थानीय तह by .

भद्रपुर । झापा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जित्न सफल आफ्ना खेलाडीहरूलाई भद्रपुर नगरपालिकाले बधाई सहित सम्मान गरेको छ ।

यही चैत ३, ४ र ५ गते मेची रङ्गशालामा आयोजित प्रतियोगितामा जिल्लाका १४ वटा पालिकालाई पछि पार्दै भद्रपुर नगरपालिकाले १५ स्वर्ण, ५ रजत र ६ कांस्य पदक जित्दै उपाधिमा कब्जा जमाएको थियो । भद्रपुरले एथलेटिक्समा ९, उसुमा ३, तेक्वान्दोमा २ र कबड्डीमा १ स्वर्ण जित्यो भने एथलेटिक्समा ३ र उसुमा २ रजत जितेको छ । एथलेटिक्समा ४, तेक्वान्दो र उसुमा १÷१ कांस्य जितेको छ ।

स्थानीय तहको प्रतिनिधित्व रहने गरी पहिलोपटक आयोजना भएको प्रतियोगिताको उपाधि जित्नु ऐतिहासिक भएको भन्दै भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठले विजेता खेलाडीहरूलाई बधाई सहित सम्मान गरेका थिए ।
नगरपालिकाको सभा हलमा बुधवार नगर खेलकुद विकास समितिका अध्यक्ष श्यामकुमार राउतको अध्यक्षतामा आयोजित संक्षिप्त समारोहमा नगरप्रमुख श्रेष्ठले नगरको खेलकुदको विकास र खेलाडीको क्षमता विकासमा नगरपालिकाले कुनै कसर नराख्ने प्रतिबद्धता जनाएका थिए ।

नगर शिक्षा खेलकुद तथा युवा शाखा प्रमुख प्रेम भुजेलले सञ्चालन गरेको समारोहमा प्रतियोगितामा सहभागी खेलाडी तथा खेल प्रशिक्षकहरूलाई अबिर, फूल माला पहिराएर समान गरिएको थियो ।

सम्मान पछि नगरप्रमुख जीवन कुमार श्रेष्ठ सहित खेलाडीको टिमले विजयी जुलुस लगाएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *